यस्तो छ आज सुनको मूल्य, हेर्नुहोस बजार भाउ

गोर्खाली खबर

काठमाडौं – आज साताको छैटौ दिन शुक्रबार, नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि: विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर

कोरोना महामारीको प्रभाव विदेशी मुद्रा सटहीमा पनि देखिएको छ । पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो । कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

“मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध छन्, झण्डै १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए”, उनले भने, “कोरोनाले व्यवसाय ठप्प त पार्‍यो नै, धेरै जनाको रोजगारीसमेत प्रभावित भएको छ ।”

बढ्दो विदेशी पर्यटकको आकर्षणसँगै मनि मुद्रा सटहीहरू खुल्न थालेको पर्यटन व्यवसायी बताउँछन् । मुद्रा सटहीलाई व्यवस्थित बनाउनका लागि विसं २०५४ मा यहाँ एशोसिएशन बनाएर सबै व्यवसायीलाई एउटै छातामा आवद्ध गराइएको अध्यक्ष भण्डारीले बताए ।

करिब एक दशक अघिसम्म पोखरामा मनि सटही खुल्ने क्रम बढेको उल्लेख गर्दै उनले त्यस क्रममा ५० को हाराहारीमा मनि सटहीहरू पुगेको बताए । “पछिल्ला वर्षमा एटिएम कार्डको बढ्दो प्रयोगले पनि यो व्यवसाय प्रभावित भएको छ”, उनले भने, “पर्यटक आउनासाथ सबैभन्दा पहिले पुग्ने स्थान मुद्रा सटही नै हो, त्यसैले पनि यो पर्यटनको महत्वपूर्ण पाटोजस्तै बनेको छ ।”

बैंकिङ संस्थाहरूको बढे पनि बिहानदेखि बेलुकासम्म पर्यटकका लागि मुद्रा सटही गरेर मनि चेन्जरहरूले ठूलै योगदान पुर्‍याएको भण्डारीको भनाइ छ । उनका अनुसार सटही विनियमावली २०७७ ले मनि सटहीरहरूले पल्स मेसिनको प्रयोग गरी डेबिट, क्रेडिट कार्डका साथै भिजा कार्डबाट भुक्तानी दिने व्यवस्था मिलाएको छ ।

कोरोनाको कहरसँगै कतिपयले त संस्था नै बन्द गरेर बसेको मनि चेन्जर एशोसिएशन पोखराका पूर्वकोषाध्यक्ष एवं श्रेष्ठ मनि चेन्जर प्रालिका सञ्चालक कृष्णकुमार श्रेष्ठ बताउँछन् । विदेशी पर्यटनको आगमन ठप्प हुनुका साथै बढ्दो एटिएम कार्डको प्रयोगले व्यवसाय प्रभावित भएको बताउँदै उनले यसले गर्दा मुद्रा सटहीले विगतमा दिएको रोजगारीलाई पनि सङ्कटमा पारेको उल्लेख गरे । पर्यटनमा विगतदेखि नै मुद्रा सटहीहरूले महत्वपूर्ण योगदान गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस