काठमाडौंमा ५०० मा भाँडा माझ्ने अन्जली लामा विश्वकै चर्चित मोडेल हुदै अब हलिउड फिल्ममा डेब्यू गर्दै (फोटो फिचर)

गोर्खाली खबर

मोडलिङ जगतमा फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुन लागेको ‘सेयरिङ ए राइड’ मा उनले अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसले पनि अभिनय गर्दै छिन् ।

वुमेन्स एण्ड हलिउडको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीको अलग९अलग पक्ष देखाइनेछ । भिडीयो हेर्नुहोस

फिल्ममा अञ्जलीले हलिउड स्टार कारा डेलेविन्ज, मारिका गे हार्डेन ,मार्गरिटा बाय, ईवा लोन्गोरिया, र लीवनर वारेला जस्ता चर्चित कलाकार सँग काम गर्न लागेकि हन् ।

तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन्

म नुवाकोटको विकट गाउँमा जन्मेँ, किसान परिवारमा। मेरो जन्म केटाको रूपमा भएको थियो। मभन्दा माथि चार जना दाजु छन्। मुनि दुई बहिनी। म पाँचौं सन्तान। हाम्रो परिवारमा खेतीपाती नगरी खान पुग्दैन थियो।

आमाबुबासहित नौ जनाको परिवार पाल्न सबै खाले काम गर्नुपर्थ्यो। घाँस का’ट्ने, गाईभैंसीको गोबर सोहोर्ने, गोठालो जानेजस्ता काम सामान्य थिए। म यी सबै काम गर्दै हुर्कें। भविष्यमा फेरि यस्ता काम गर्नुपर्‍यो भने मलाई कुनै अप्ठ्यारो हुँदैन। मान्छेको जीवनमा सबै काम सोचेजस्तो नहुन सक्छ। परिआए जे पनि गर्नुपर्छ। जस्तोसुकै समस्या डटेर सामना गर्नुपर्छ।

मलाई सानैदेखि साथीहरू ‘यसको त चालामाला केटीजस्तो छ’ भनेर जिस्क्याउँथे। हिँडाइ पनि केटीजस्तो छ भन्थे, बोलाइ पनि। जीउ पनि का’टीकु’टी केटीजस्तै छ भनेर उल्याउँथे। मलाई रिस उठ्थ्यो। चित्त दुख्थ्यो।

मलाई पनि केटाभन्दा केटी साथीहरू नै मनपर्थ्यो। केटीहरूसँगै हिँड्न र बोल्न रुचाउँथेँ। साथीहरूको जिस्काइले मानसिक रूपमा धेरै तनाव हुन्थ्यो। यही तनावले मैले पढाइमा ध्यान दिन सकिनँ। एसएलसी पनि दोस्रोपटकमा पास भएँ।
भिडीयो हेर्नुहोस

एसएलसीपछि काठमाडौं आएँ। सहर आएपछि जिस्क्याइ कम हुन्छ कि भन्ने लागेको थियो, कहाँ पाएर कम हुनु! यहाँ त गाउँमा भन्दा धेरै जिस्काउँथे। नानाथरिका शब्द प्रयोग गर्थे। त्यस्ता शब्द मैले काठमाडौं आएपछि मात्र थाहा पाएँ। बरू गाउँमा त्यस्तरी होच्याएको थाहा थिएन। सहरका मान्छे सभ्य, बुझेको, मिलनसार होलान् भन्ने सोचेको थिएँ, होइन रहेछ।

यहाँ आएपछि मैले झन् बढी मानसिक तनाव झेल्नुपर्यो। झन् खुल्न गाह्रो भयो। अप्ठ्यारो लाग्यो। केही काम नपाएपछि होटलमा भाडा माझ्न थालेँ। यो सन् २००५ को कुरा हो। महिनाको पाँच सय रुपैयाँ पारिश्रमिक पाउँथेँ। त्यति पाउँदा पनि मिहिनेत गरेर कमाएको हुँदा कत्ति खुसी लाग्थ्यो।

केही वर्षअघिसम्म मलाई यो कुरा भन्न अप्ठ्यारो लाग्थ्यो। भाँडा माझ्ने पो रहेछ भनेर हेप्छ जस्तो लाग्थ्यो। अहिले त्यस्तो लाग्दैन। हामीले सानो सानो काम गरेर नै आफूलाई प्रमाणित गर्नुपर्ने रहेछ। सानो सानो कामबाट नै ठूलो पाठ सिक्नुपर्ने रहेछ।

अहिले यहाँ उभिएर हिजो मैले भाँडा माझेको थिएँ भन्न मलाई कुनै लाज, सरम र अप्ठ्यारो लाग्दैन। बरू आफूले गरेको काममा गर्व लाग्छ। म अहिले मानसिक रूपमा बलियो भैसकेको छु।

त्यति बेला होटलमा काम गर्दा र कलेज जाँदा पनि धेरै तनाव हुन्थ्यो। त्यही संघर्षबीच ‘ब्लु डाइमन्ड सोसाइटी’ को सम्पर्कमा आएँ। त्यसपछि बल्ल मैले आफू ‘ट्रान्सजेन्डर’ भएको थाहा पाएँ। मैले घरपरिवारसँग आफ्नो कुरा राखेँ। कसैले पनि मान्न तयार हुनुभएन। बरू मेरो घरपरिवार, समाज, साथीभाइ र गाउँसँग सम्पर्क टुट्यो।

त्यो समय मैले आफू मोडल वा सुपर मोडल बन्छु भन्ने कहिल्यै सोचेको थिइनँ। कुनै अवार्ड जित्छु, देश–विदेश घुम्छु, हजारौं मान्छेका अगाडि यसरी उभिन्छु भन्ने त दिमागमा कल्पना पनि थिएन।

काठमाडौं आएर थुप्रै समस्या भोग्नुपरे पनि यहाँ मेरो निम्ति अवसरका ढोका खुल्दै गए। यहाँ मलाई जिस्क्याउनेहरू त थिए, त्योभन्दा बढी मैले साथ दिने साथीभाइहरू पाएँ। उनीहरूकै सहयोगले मलाई अगाडि बढ्न प्रेरित गर्‍यो। मलाई फेसन र मोडलिङको ज्ञान भयो।

धेरैले ‘तिम्रो फिगर कस्तो राम्रो, तिमी त मोडल हुनुपर्छ’ भन्थे। धेरैको मुखबाट यस्तै प्रतिक्रिया सुनेर मलाई मोडल भनेको के हो, कसरी गर्ने भन्ने जिज्ञासा भयो। मैले यसबारे बुझ्न थालेँ। साथीभाइले मद्दत गरे। र, सन् २००९ बाट मैले काम सुरू गरेँ। भिडीयो हेर्नुहोस

आज फर्केर हेर्दा मलाई नेपालमा ‘ट्रान्सजेन्डर’ भएर जन्मिन पाएकोमा खुसी लाग्छ। यहाँ हामीलाई अपराधीको दर्जामा राखिएको छैन। मान्छेले नबुझेर अपमान गरे पनि राज्यले अपराधी ठहर्‍याएको छैन। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाजस्ता दक्षिणी एसियाली देशमा हाम्रो समुदायलाई सिधै अपराधी बनाइन्छ।

सन् २००९ देखि २०१६ सम्म मैले नेपालमै बसेर काम गरेँ। यस क्रममा धेरै साथीहरूले ‘तिमी किन नेपालमा मात्र काम गर्छौ, बाहिरतिर किन प्रयास गर्दैनौ’ भन्थे। प्रतिभा भएको मान्छेले संसारभरि आफ्नो स्थान खोज्नुपर्छ

भनेर हौसला दिन्थे। मलाई पनि बाहिर गएर काम गर्ने मन नभएको होइन। न्यूयोर्क, बेलायत, फ्रान्स सबैतिर गएर फेसन शोमा भाग लिन मन थियो। तर, मसँग पैसा र पहुँच थिएन।

त्यति बेला अरू ठाउँ नभए पनि भारतको मुम्बई गएर त प्रयास गर्न सक्छु भनेर सोचेँ। सबभन्दा पहिले ‘ल्याक्मे फेसन शो’ मा प्रयास गरेँ। २०१६ मा टप-२० सम्म पुगेँ। त्यसपछि बाहिरिएँ। दोस्रोपटक पनि गएँ, भएन।

 

मैले लगभग हरेस खाइसकेको थिएँ। तै पनि मनमा आस बाँकी थियो। २०१६ को अन्त्यमा यहाँको सबै काम छाडेर मुम्बई नै जाने निधो गरेँ।

त्यो मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो। मुम्बईमा मेरो कोही थिएन। पैसा पनि थिएन। नचिनेको ठाउँ, त्यसमाथि अर्काको देश, जहाँ मजस्तालाई अपराधी सरह व्यवहार गरिन्छ भन्ने जान्दाजान्दै म मुम्बई पुगेँ।

 

त्यहाँ बस्न निकै गाह्रो रहेछ। घर खोज्न पनि ‘ब्रोकर’ मार्फत् जानुपर्ने। अग्रिम भुक्तानी दिनुपर्ने। त्यति गरिसकेपछि पनि ‘ट्रान्सजेन्डर’ हो भन्ने थाहा पाएपछि घर नदिने। पहिलो चुनौती नै यही भयो।

नेपालमा त पैसा तिरेपछि केही हदसम्म समस्या समाधान हुन्छ। उता त्यस्तो छैन। अहिले मुम्बईमा म बसेको घर मेरो नाममा छैन। तेश्रो व्यक्तिको नाममा रहेको घरमा म बसिरहेको छु। मेरो कागजपत्रमा पुरुषको नाम नवीन वाइवा नै छ। साथी भएर मात्र मलाई केही हदसम्म सहज भइरहेको छ।

प्रतिक्रिया दिनुहोस