नदी नियन्त्रणमा बजेट अभाव ः बाढीको क्षति दोब्बर

नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पु¥याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित तुल्याएको थियो । खेतीका लागि उर्वर मानिएको जग्गामध्ये ३५० बिघा कटान र ७१० बिघा डुबान गरेको जनताको तटबन्ध कार्यक्रम झापाले जनाएको छ । सो बाढीबाट चार हजार २० जना प्रभावित भएका थिए ।

आउँदो वर्षा याममा बाढीमा जग्गाको कटान दोब्बरभन्दा बढी हुने र प्रभावित घरधुरी र जनसङ्ख्या अझ बढ्ने जनताको तटबन्ध कार्यक्रमले गरेको पूर्वानुमान अध्ययनले देखाएको छ । कार्यक्रमका प्रमुख रुपनारायण अधिकारीका अनुसार नदी नियन्त्रण कार्य नगरिएमा आउँदो बर्खामा बाढीले झापाका एक हजार ९६५ घरधुरीका १० हजार ६९५ व्यक्तिलाई प्रभावित पार्ने अनुमान गरिएको छ । सो कार्यालयको अध्ययनले आउँदो वर्षा याममा बाढी कनकाई, विरिङ, रतुवा र मावा नदीले पाँच हजार १०५ बिघा उर्वर जग्गामा कटान र डुबान गरेर क्षति पु¥याउने प्रक्षेपण गरेको छ ।

नियन्त्रणका लागि रु ४० करोड आवश्यक
झापाका मुख्य चार नदीको बाढीले उर्वर जग्गामा क्षति पु¥याएर किसानको उठिबास लगाउँदै आएको छ । विगतमा नियन्त्रणका प्रयास भए तापनि कोभिड–१९ को महामारीपछि सरकारले धेरै बजेट दिन नसक्दा नदी नियन्त्रणको कार्यमा असर परेको देखिन्छ ।

जनताको तटबन्ध कार्यक्रमका प्रमुख अधिकारीका अनुसार तत्काल नदी नियन्त्रणका लागि रु ४० करोड थप बजेट आवश्यक पर्दछ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले रु २० करोड बजेट दिएको थियो । सो बजेटको ९० प्रतिशत काम भइसकेको छ ।

नदीको दुबै किनारमा भरपर्दो तटबन्ध गर्ने हो भने नदीले क्षति पु¥याउन सक्दैन । कतिपय ठाउँमा जैविक प्रविधि प्रयोग गरी बाँस, घाँस जस्ता वनस्पति हुर्काएरसमेत बाढी नियन्त्रणको प्रयास हुँदै आएको छ । तारजालीमा ढुङ्गा भरेर गरिने तटबन्धन सबैभन्दा बढी प्रचलनमा रहेको छ ।
झापामा नदी नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले एकीकृत परियोजना ल्याउने हो भने प्रभावकारी हुने देखिन्छ । सीमित बजेटले विगतमा गरिएका नियन्त्रणका प्रयास सबै अधुरा छन् ।

खोला दोहनले बढ्यो क्षति

चुरे र महाभारत पहाडबाट उत्पत्ति भएका नदी झापा भएर बग्ने गरेका छन् । इलामको विभिन्न खोला मिसिएर बग्ने कनकाई झापाको सबैभन्दा ठूलो र बढी क्षति गर्दै आएको नदी हो । नदीबाट ढुङ्गा र बालुवा उत्खनन त्रुटीपूर्ण ढङ्गबाट गरिँदासमेत नदीको बहावमा असर परी बाढीले बढी क्षति पु¥याउने गरेको छ । तटबन्धन कार्यालयका प्रमुख अधिकारीले केही वर्षयता स्थानीय पालिकाले आफूखुशी नदीजन्य पदार्थको उत्खनन गरिरहेका कारण पनि बाढीको समस्या बढेको बताउनुभयो ।

‘‘नदीबाट ढुङ्गा बालुवा उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरिनुपर्दछ’’, उहाँले भन्नुभयो,‘‘तर झापामा एकातिर वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र अर्कातिर उत्खननका कार्य हुने गरेको छ । यसको भरपर्दो अनुगमन गरी अनाधिकृत उत्खनन रोकिनुपर्दछ ।’’

वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा स्थानीय पालिकाले जनताको तटबन्धन कार्यक्रमको कार्यालयसँग समन्वय नगरेको उहाँले बताउनुभयो । कतिपय नदीमा अनाधिकृत रुपमा खोलाको दोहन भइरहेको कारण नदीको धार बदलिएर बाढीका बेला बढी क्षति पु¥याउने गरेको उहाँको भनाइ छ ।

कनकाई, विरिङ, निन्दा, मेची, टिमाइ, रतुवा, मावालगायतका नदीबाट वर्षेनि ठूलो मात्रामा ढुङ्गा र बालुवा निकाल्ने गरिएको छ । स्थानीय पालिकाले प्रदेश सरकारको सहमतिमा उत्खननको ठेक्का लगाउने र करोडौं आम्दानी गर्दैै आएका छन् । आयआर्जन गरेका पालिकाले नदी नियन्त्रणमा बजेट छुट्याउन भने कञ्जुस्याइँ गर्दै आएका छन् ।

कनकाईबाट बढी क्षति

मध्य झापाको कनकाई नदीले शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकामा पु¥याउने क्षति सबैभन्दा बढी छ । गत बर्खायाममा कनकाई नदीले ती पालिकामा २२२ बिघा जग्गा कटान गरेको थियो भने २४५ बिघा डुबानमा पारेको थियो । सो बर्खामा १६९ घरधुरीका एक हजार २९० जनसङ्ख्या कनकाईको बाढीबाट प्रत्यक्ष प्रभावित भएका थिए ।
आउँदो बर्खामा कनकाई नदीले ८७५ घरधुरीका सात हजार १३५ जनसङ्ख्यालाई बाढीबाट प्रभावित तुल्याउने सरकारी पूर्वानुमान छ । नदी नियन्त्रणको कार्य नगरिएमा कनकाईको आउँदो बाढीले मात्र तीन हजार ५०० बिघा जग्गा कटान तथा डुबान गर्ने सम्भावना छ ।
पीडित भन्छन् ः “खोला नपस्ने बनाइदेउ”

बाढीबाट धेरै प्रभावित पालिकामध्येको झापा गाउँपालिकाका दर्जनौं बस्ती वर्षेनि विचल्लीमा पर्ने गरेका छन् । बाढी गाउँमा पसेपछि विस्थापित भएका परिवारलाई विद्यालयलगायत नजिकैको सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर राख्ने गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस