प्रचण्ड पनि सडकमा, कार्यकर्ताको नारा– ‘आदेश देऊ प्रचण्ड, हामी लड्न तयार छौँ’

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) मुलुकभर प्रदर्शन गरिरहेको छ । आमहड्तालमा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ ।

नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ समेत सडकमा निस्किनु भएको छ । उहाँ सातदोबाटो क्षेत्रमा निस्किनुभएको हो । प्रचण्ड सडकमा निस्किएपछि कार्यकर्ताले ‘आदेश देऊ प्रचण्ड, हामी लड्न तयार छौँ’ भन्ने नारा लगाएका छन् । प्रचण्ड–माधवका कार्यकर्ताले ‘गणतन्त्र जीन्दवाद, लोकतन्त्र जीन्दवाद, संविधानको रक्षा गरौं, प्रतिनिधिसभा सुचारू गर , निरङ्कुर तन्त्र चाहिँदैन, जनताको एकता जीन्दवाद’ भन्दै नारा लगाएका छन् ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विभिन्नखाले आन्दोलन गर्दै आएको प्रचण्ड–माधव समूहले बुधबार संवैधानिक निकायहरूमा गरिएको नियुक्तिलाई लिएर आमहड्तालको आह्वान गरेको हो । आमहड्तालको प्रभाव देशव्यापी रुपमा परेको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस