जिप दुर्घटनामा आमाले संसार छोडेर गए पनि आमाले किनिदिएको खेलौना हातमै ,आमा खोज्दैअस्पतालमा बालक यता उता

बुधबार गुल्मीमा भएको जिप दुर्घटनामा आमा गुमाएकी चार वर्षीय बालिका जिल्ला अस्पताल तम्घासमा यता उता चाहर्छिन् । सोही अस्पतालमा उनका पिता प्रकाश नेपालीको उपचार भइरहेको छ ।

गुल्मीकै पराल्मी गाउँका प्रकाश नेपाली र उनकी पत्नी शान्ति नेपालीले अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शनका लागि चार वर्षीय छोरीलाई सँगै लगेका थिए । मंगलबार मन्दिर दर्शन गरेपछि उनीहरु अर्घाखाँचीमै एक आफन्तको घरमा बसे ।

बुधबार तम्घास बजारमा प्रकाश र शान्तिले सामान्य किनमेल गरे । सोही क्रममा शान्तिले चार वर्षीय छोरीका लागि खेलौना किनिदिइन् । त्यसपछि घर फर्कन जिप चढेका उनीहरु बाटोमै दुर्घटनामा परे । दुर्घटनामा शान्तिको मृ’त्यु भयो भने प्रकाश घाइते अवस्थामा उपचाररत छन् । चार वर्षीय छोरी भने आमाले किनिदिएको खेलौना हातमा लिएर यताउता चाहर्दैछिन् ।

प्रकाशका अनुसार चालकले जिप असन्तुलित हुनासाथ चार वर्षीय बालिकालाई आमाको काखबाट तानेर सडकमा खसालिदिएका थिए । त्यसैले ती बालिकालाई खासै चोट लागेन । तर प्रकाश र उनकी श्रीमतीसँगै अन्य यात्री जिपमै रहे । सडकबाट जिप तल खस्दा ८ जना घाइते भए भने तीन जनाको मृ’त्यु भयो । घाइते ८ मध्ये दुई जना तम्घास अस्पतालमा छन् भने ६ जनालाइ पाल्पा रिफर गरिएको छ ।

जिल्ला अस्पताल तम्घासमा उपचार गराइरहेका प्रकाशलाई उनकी पत्नीको निधन भएको थाहा दिइएको छैन । उनी पत्नीलाई पाल्पामा उपचारका लागि पठाइएको भ्रममा छन् । शान्तिको शव सोही अस्पतालको शवगृहमा राखिएको छ ।

रेसुङ्गा नगरपालिका १४ मा पर्ने पराल्मी गाउँ तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप पराल्मिको ठुलापँधेरामा दुर्घटना हुँदा तम्घास नजिकै बुट्टाखुरीकी ४७ वर्षीय चेली गोमा नेपालीको पनि निधन भयो । उनी माइतीघरबाट घरतर्फ फर्कदै थिइन् ।

उनका भाइ कृष्ण नेपाली भन्छन्, ‘फागुन २ गते दिदी आउनुभएको थियो, हिजो (बुधबार) हाँसीखुशी घर जानुभएको थियो तर बाटोमै त्यस्तो भयो ।’ सोही दुर्घटनामा परी मृ’त्यु भएका अर्का व्यक्ति हुन् पराल्मी गाउँका ४८ वर्षीय एकबहादुर पोख्रेल । ६ दिन अघिमात्र भारतबाट आमाको तिथि गर्न आएका उनी जिपमा चढेको पाँच मिनेटमै दुर्घटनामा परेका थिए ।

उनकी श्रीमती, एक छोरा र दुई छोरी भारतमै छन् । मोटरबाटो खुलेको वर्षौँ हुँदा पनि सदरमुकाम नजिकै पराल्मीको सडक स्तरोन्नति हुन नसक्दा त्यहाँका बासिन्दाले धेरै पटक दुर्घटनाको जोखिम मोल्दै आएका छन् । रेसुङ्गा नगरपालिकाभित्र परे पनि साबिक पराल्मी गाविस बत्तीमूनिको अँध्यारो गाउँका रुपमा चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस