एउटा कुकुर र चितुवा एउटै ट्वाइलेटभित्र ७ घण्टासम्म थुनिएपछि…

एउटा बन्द ट्वाइलेटभित्र एउटा चितुवा र एउटा कुकुर ७ घण्टासम्म थुनिए । तर, आश्चर्यजनक रुपमा चितुवा एक छेउमा बसेर अर्कोतिर कुकुरलाई ठाउँ छोडिदियो । यति लामो समयसम्म चितुवाले कुकुरलाई कुनै नोक्सानी गरेन । भारतको कर्नाटक राज्यको दक्षिणी कन्नड जिल्लामा यस्तो विचित्र घटना भएको हो ।

द हिन्दूको रिपोर्टअनुसार ७ घण्टासम्म चलेको उद्धार अभियानपछि दुवै जनावरलाई बाहिर निकालिएको थियो । दक्षिणी कन्नड जिल्लाको त्यो गाउँमा बुधबार बिहान एउटा चितुवा एउटा कुकुरलाई पच्छ्याउँदै आयो र दुवै एउटा शौचालयमा पसे । उनहिरुको आवाज सुनेर मानिसहरुले त्यहाँ गएर हेर्दा उनीहरुको सातो गयो । त्यसपछि गाउँलेहरुले शौचालयलाई बाहिरबाट बन्द गरेर पुलिस र वन विभागलाई सूचना दिए ।

वन विभागका एक अधिकारीका अनुसार शौचालयभित्र कुकुर र चितुवा देखेपछि गाउँलेहरुले उनीहरुलाई भित्रै थुनिदिएका थिए । विभागका कर्मचारी जब घटनास्थल पुगे त्यसपछि ती दुवै जनावरलाई बाहिर निकाल्नको लागि उद्धार अपरेसन सुरु गरियो । शौचालय बाहिर एउडा पिंजडा राखिएको थियो र चारैतिर जाल बिच्छ्याइएको थियो । पशु चिकित्सकलाई पनि बोलाइएको थियो ।

यही क्रममा दिउँसो करिब २ बजे चितुवा कुकुरलाई केही नगरी शौचालयबाट बाहिर हाम्फाल्यो । त्यसपछि कुकुर पनि शौचालयबाट बाहिर निस्कियो । यो घटनाको एउटा तस्वीर पनि सार्वजनिक भएको छ । शौचालयको भित्तामा बनाइएको एउटा प्वालबाट यो तस्वीर खिचिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस