प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन : सभापति देउवा

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनुभएको छ ।नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोकसभामा उहाँले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनुभएको हो ।

सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।”

आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भन्नुभयो, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उहाँले थप्नुभयो, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।” पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उहाँले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भन्नुभयो । उहाँले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताउनुभयो ।

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।”

सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उहाँको भनाइ थियो । कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले स्व एकनाथ रानाभाटले निष्ठावानरुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भन्नुभयो । “आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको कांग्रेस मात्र रहेको छ” उहाँले भन्नुभयो, “कांग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस