नर्भिक हस्पिटलले भित्र्यायो बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक प्रविधि

ठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक प्रविधि भित्र्याएको छ । यस अघि अनुहारको आकृति बिग्रिँदा स्वदेशमै उपचार गराउने कुनै विकल्प थिएन ।

जसले गर्दा नेपाली बिरामीले शल्यक्रियाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जर्मन र ताइवानबाट विशेष तालिम लिएर स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो सेवाको सुरुवात गरेको हो ।

उच्चतम अत्याधुनिक प्रविधिको प्रयोग गरी नर्भिकमा डा. किशोर भण्डारी र डा. मनिष बज्राचार्यको टिमले यस्तो शल्यक्रिया सेवा दिन सुरु गरेका छ । यससँगै नर्भिक यस्तो सेवा उपलब्ध गराउने नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ ।

के हो अनुहारको असामान्य आकृति ?

अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई अर्थोगाइनेटिक सर्जरी समेत भनिन्छ ।

शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् ।

यसरी गरिन्छ उपचार

डा. किशोर भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेसन अघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेसनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारेर टाइटेनियम प्लेट्स र स्क्रुले फिक्स गरिन्छ ।

सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ । जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिँदैन । यस्तो शल्यक्रिया अवधि ४–६ घण्टाको हुन्छ ।

शल्यक्रियापछि धेरैमा ३ दिन मात्र अस्पताल बस्नुपर्ने हुन्छ । बिरामीले काम, पढाई वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि विदा लिनुपर्ने हुन्छ ।

६ हप्तासम्म झोलिलो खानेकुरा मात्र खानु पर्छ । शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहने उल्लेख छ ।

नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ (भीएसपी) अर्थात कम्प्युटरको सहायताले अनुहारको बनौट निर्क्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस