चिकित्सकले तीन दिनपछि मर्ने भनिएका कोरोना संक्रमित महिलालाई बचायो यो औषधिले

एजेन्सी । डाक्टरहरुले ३ दिन मात्रै बाँच्ने बताइएकी इङ्ल्याण्डकी एक कोरोना संक्रमित महिला प्रयोगात्मक औषधिबाट बाँच्न सफल भएकी छिन । गत नोभेम्बरमा कोरोना संक्रमित भएकी इङ्ग्ल्याण्डको शेफील्ड निवासी ४५ बर्षीया क्लेयर हेथ्रोनले प्रयोेगात्मक औषधिको प्रयोगबाट नयाँ जीवन पाएकी हुन ।

नर्दन जनरल अस्पतालको आईसियुमा कैयौं हप्तादेखि कोमामा रहेकी हेथ्रोनको स्वास्थ्यमा कुनै प्रगति आउन सकेको थिएन । उनलाई ३ डिसेम्बरका दिन डाक्टरहरुले अन्तिम उपाय स्वरुप एनाकीर्ना नामक औषधि दिएपछि स्वास्थ्यमा सुधार आएको थियो । यो औषधि अर्थराइटिसका विरामीको उपचारमा प्रयोग हुन्छ ।

८ डिसेम्बरदेखि नै हेथ्रोनको स्वास्थ्यमा सुधार देखियो । ११ डिसेम्बरका दिन उनी कोमाबाट ब्युँझिइन । क्लेयर हेथ्रोनको गम्भीर स्वास्थ्य अवस्थाका कारण उनको परिवारले बाँच्ने आशा त्यागिसकेका थिए । उनी होसमा आएपछि चिकित्सकलगायत क्लेयरको परिवारसमेत आश्चर्यमा पर्यो ।

हेथ्रोनकी १८ बर्षीया छोरी लेया हेथ्रोनले एनाकीर्ना नामक औषधिलाई जादुमयी औषधिको संज्ञा दिएकी छिन । बाँच्ने आस मारिसकेका उनकी आमा बाँचेपछि लेयाले यसलाई क्रिसमस र नयाँ बर्षको विशेष उपहार भनेकी छिन । शुरुवाती समयमा क्लेयरको परिवारले कोरोनालाई सामान्य रुपमा लिएका थिए ।

क्लेयरलाई अन्य कुनै रोग नभएका कारण पनि यसलाई सामान्य रुपमा लिएका हुन । उनको परिवारमा उनी बाहेक अरु कसैलाई पनि संक्रमण भएको थिएन । केयर टेकरको काम गर्दै आएकी क्लेयर हेथ्रोनको स्वास्थ्य अवस्था बिग्रंदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको वेल्स अनलाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस