सङ्क्रमितले अस्पतालका शैया भरिन थाले, सावधानी अपनाउन जरूरी

काठमाडौँ, वैशाख ११ गते । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करिब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराेना सङ्क्रमितले अस्पतालका श्यया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् ।

दैनिक आठ–नौ जना उपचारपछि घर गए पनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उहाँको भनाइ छ । उहाँले अस्पतालमा सङ्क्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरेको जानकारी दिनुभयो । “हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ”, उहाँले भन्नुभयो, “अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।”

उहाँले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गर्नुभयो । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डबल भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता छ ।

अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । उहाँले सङ्क्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफँै सचेत हुनुपर्ने भनाइ राख्नुभयो । “अहिलेको भाइरसले सङ्क्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ”, उहाँले भन्नुभयो, “अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी सङ्क्रामक देखिएको छ ।”

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० श्ययामध्ये सबै भरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजन दिनुपरेको जानकारी दिनुभयो । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी छन् ।

यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा सङ्क्रमित छन् । उहाँले दैनिक आठ–नौ जना नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताउनुभयो । उहाँले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिनुभयो ।

सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको उहाँको भनाइ छ । त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । उहाँले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताउनुभयो । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उहाँले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस