हावामा १ घण्टा बाँच्न सक्ने कोरोनाको नयाँ स्ट्रेन फेला, श्रीलंकामा थपियाे चिन्ता

एजेन्सी । अहिले भारत लगायत विभिन्न देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापक फैलिएको छ । यही बेला श्रीलंकामा अहिलेसम्मकै खतरनाक मानिने कोरोनाको नयाँ स्ट्रेन फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो नयाँ स्ट्रेन एयरबोर्न अर्थात् हावामा बाँच्न सक्दछ र यसले हावालाई संक्रमणतुल्य बनाउँछ । स्वस्थ व्यक्ति संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा नआए पनि यो भाइरस हावामा फैलिन्छ र अन्यलाई पनि संक्रमित तुल्याउन सक्छ ।

इन्डिया टुडेका अनुसार श्रीलंकाली इम्युनोलोजिस्टले यो नयाँ स्ट्रेन एक घन्टासम्म हावामा बाँच्न सक्ने र कैयौँलाई संक्रमित तुल्याउन सक्ने बताएका छन् । नयाँ स्ट्रन फेला परेपछि स्वास्थ्यकर्मीलाई थप चिन्ता परेको छ ।

‘यो भेरिएन्ट अत्यन्तै संक्रामक छ र हावामा एक घन्टासम्म बस्न सक्छ,’ श्री जयवर्दनपुरा विश्वविद्यालयमा इम्युनोलोजी एन्ड मोलिक्युलर सायन्सेज विभागकी प्रमुख नीलिका मालाविगेले भनिन्, ‘देशमा फेला परेको कोरोना भेरिएन्टमध्ये यो सबभन्दा बढी संक्रामक हो । यो स्ट्रेन हावामा रहन्छ र ड्रपलेटहरू लगभग एक घन्टासम्म हावामै तैरन सक्छन् ।’

श्रीलंकामा गत साता नववर्षको उत्सव मनाउँदा भएको भीडभाडका कारण नयाँ भेरिएन्ट द्रुत गतिमा फैलिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । साथै थप सतर्कता आवश्यक रहेको पनि उनीहरुको ठहर छ । श्रीलंकामा अहिले सरकारले थप संक्रमण बढ्न नदिन विभिन्न किसिमका प्रतिबन्धहरु लगाएको छ, जुन आगामी मे ३१ सम्मका लागि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस