पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार

काठमाडौं- कोरोना संक्रमणपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो।

उनको श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो। आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन।

उनीहरु तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस