वैशाख १७ गते घर फर्किएका मदनकृष्णलाई श्वास फेर्न समस्या भएपछि पुनः अस्पताल भर्ना

काठमाडौं– शरीरमा अक्सिजनको मात्रा कम भएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् ।

परिवारका अनुसार गत वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएपछि घरमा नै आइसोलेसनमा बसिरहेका थिए ।

घरमा बसिरहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई गत वैशाख १० गते नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकले उनको छातीमा संक्रमण देखिएको जानकारी गराएका थिए ।

अस्पताल बसाई पछि गत वैशाख १७ गते घर फर्किएका मदनकृष्णलाई श्वास फेर्न समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

उनको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। मदनको उपचारमा ‘रेमडेसिबिर’ औषधि चलाइएको छ।

मदनले पहिलो चरणको कोरोना भ्याक्सिन लगाइसकेका छन् । मदनकृष्णसहित परिवारको कोरोना रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस