काठमाडौं – ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपालले वैशाख ८ गते कोभिड–१९ विरुद्धको दोस्रो खोप लगाए। खोप लगाएको तीन दिनपछि उनलाई ज्वरो आयो। रुघाखोकी पनि लाग्यो।
कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु देखिएकाले उनले पिसिआर परीक्षण गराए। उनको रिपोर्ट पोजिटिभ आयो।
उनले भने, ‘मलाई लक्षण देखिएको थियो। त्यसपछि मैले कोरोना परीक्षण गर्दा पोजिटिभ आएको हो।’
आफू खोप लगाउन गएको बेला संक्रमित भएको हो की भन्ने उनको अनुमान छ। खोप लगाउन गएको दिन निकै भीड भएको बताउँदै उनले भने, ‘म त्यो बेलासम्म बिरामीहरुसँग एक्स्पोज भएको थिइन। खोप केन्द्रबाटै मलाई कोरोना स¥यो जस्तो लाग्छ। किनकी त्यो बेला निकै भीडभाड थियो।’
धेरै व्यक्तिले खोप लगाउँदैमा सुरक्षित भइन्छ भन्ने सोचका साथ हेलचक्र्याई गर्ने गरेको उनको अनुभव छ। खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न उनको आग्रह छ।
खोपको दोस्रो डोज लगाएको एक साता, १५÷२० दिनपछि पनि आफ्नै सहकर्मीहरु संक्रमित भइरहेको कुरा डा नेपाल सुनाउँछन्।
उनले भने, ‘खोपको दोस्रो डोज लगाएपछि संक्रमित हुने धेरै छन्। खोप लगाएको दुई दिनदेखि १५÷२० दिनपछि पनि संक्रमण भएको पाएको छु। खोप लगाएको छु, म सुरक्षित भएँ भनेर हेरचेक्र्याई गर्नु हुँदैन। जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्नै पर्छ।’
कोरोनाले त्रसित विश्वका अधिकांश देश र मानिसहरु खोप लगाउन चाहन्छन्। तर खोप लगाउने बित्तिकै सुरक्षित भइन्छ भन्ने होइन। खोपको मात्रा पुरा गर्नु त पर्छ नै जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ। तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले शरीरलाई सुरक्षा दिन सक्छ।
यद्यपि खोप लगाउँदैमा कोरोना नै लाग्दैन भन्ने पनि होइन। लापरबाहीले खोप लगाएका व्यक्ति पनि संक्रमित हुन सक्छन् र भइरहेका पनि छन्। खोप लगाएपछि कोरोना भाइरसले निम्त्याउने जटिलता कम हुने हो। संक्रमण हुँदै नहुने भन्ने भ्रममा पर्नु हुँदैन।
कोभिसिल्ड खोपको हकमा दोस्रो मात्रा गरेपछि ७० प्रतिशत बढी कोरोनाबाट सुरक्षा दिने खोप शाखाका प्रमुख डा झलक गौतमले बताए।
खोप लगाउने बित्तिकै शरीरमा एन्टीबडी नबन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। उनका अनुसार कोभिसिल्ड खोपको पुरा मात्रा लगाएको २८ दिनपछि मात्र शरीरमा एन्टीबडी बन्छ।
खोप लगाएको हप्ता दिनमै संक्रमितसँग सम्पर्कमा आयो भने व्यक्ति संक्रमित हुनु स्वाभाविक भएको उनले बताइन्।