भारतमा एकै दिन चार लाख बढी कोभिड–१९ संक्रमित, झण्डै चार हजारको मृत्यु

नयाँ दिल्ली / कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १५ लाख पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप तीन हजार ९१५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३४ हजार पुगेको हो ।

हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १७ हजारको ज्यान गइसकेको छ ।

भारतमा अझै पनि ३६ लाख ४५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित झण्डै ७९ हजार व्यक्ति थपिएका थिए । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७६ लाख १२ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ४० लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस