सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य

कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ ।

एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो । अनि उनले त्यो गोबरजस्तो चिजलाई बोकेर घर ल्याए ।

अनौठो सुगन्ध आउने त्यो गोबरजस्तो चिज आखिर के हो ? भन्ने बारेमा उनलाई सुइँकोसम्म पनि थिएन । उनले त्यो अनौठो चिज घर ल्याइसकेपछि त्यसका बारेमा इन्टरनेट लगायतका अनेक ठाउँहरुमा थुप्रै खोजविन गरे । अन्ततः उनले पत्ता लगाए कि त्यो त ह्वेलको बान्ता पो रहेछ । ४ किलो तौलको उक्त बान्ता अन्ततः उनले २ लाख १० हजार डलरमा बिक्री गरे । ह्वेलको बान्ताले एकजना ताइबानीलाई एकाएक करोडपति बनाएको उक्त समाचार स्थानीय सञ्चारमाध्यमहरुले केही समयअघि प्रकाशित गरेका थिए ।

आखिर ह्वेलको बान्तामा के त्यस्तो चिज हुन्छ र त्यो त्यतिधेरै बहुमूल्य हुन्छ त ?

वास्तवमा ह्वेलको शरीरबाट निस्कने यो उत्सर्जित वस्तुलाई कतिपय वैज्ञानिकले ह्वेलको बान्ता भन्छन् त कतिले ह्वेलको दिसा । किनकी कहिलेकाहीँ त्यो पदार्थ ह्वेलको मलद्वारबाट बाहिर आउँछ त कहिले मुखबाट निस्कन्छ । वैज्ञानिक भाषामा यसलाई एम्बरग्रीस भनिन्छ । ह्वेलको पेटबाट निस्कने एम्बरग्रीस कालो वा स्लेट रङको ठोस पदार्थ हो । यो मैनबत्ती जस्तै ज्वलनशील पदार्थ हो । यो पदार्थले ह्वेलको शरीरभित्र रोग प्रतिरोधी पदार्थको रुपमा काम गर्दछ ।

आम रुपमा ह्वेलमाछा समुद्रमा तटीय क्षेत्रभन्दा निकै टाढामात्र बस्दछ । यस्तोमा ह्वेलको शरीरबाट निस्किएको एम्बरग्रीस समुद्रको बीचबाट किनारासम्म आउनका लागि वर्षौंसम्म लाग्दछ । समुद्रको नुनिलो पानी, सूर्यको प्रकाश र तापका कारण त्यो चट्टानजस्तै कडा र सुख्खा ठोस पदार्थमा बदलिन्छ ।

ह्वेलको यस वान्ताको प्रयोग अत्तर अर्थात् पर्फ्युम बनाउन प्रयोग गरिन्छ । सोही कारण यो निकै महँगो हुन्छ । एम्बरग्रीसबाट बनेका अत्तरको सुगन्ध लामो समयसम्म रहन्छ । इतिहास अनुसार प्राचीन मिश्रमा मानिसहरुले एम्बरग्रीसबाट बनेका अगरबत्ती तथा धूपको प्रयोग गर्दथे । युरोपमा ब्लाकएजका समयमा मानिसहरु प्लेगबाट बच्नका लागि भन्दै एम्बरग्रीस घरमा राख्दथे ।

वैज्ञानिकहरुले एम्बरग्रीसलाई समुद्रमा तैरिने सुन पनि भन्दछन् । एउटा ह्वेलको शरीरबाट एक पटकमा निस्कने एम्बरग्रीसको तौल १५ ग्रामदेखि ५० किलोसम्म हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस