चीनमा प्लेग संक्रमित व्यक्ति फेला, घातक बन्न सक्ने चेतावनी

एजेन्सी : छिमेकी मुलुक चीनमा एक व्यक्तिमा प्लेग संक्रमण भएको पुष्टि भएको छ । चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएको हो । उनी गोठाला भएको बताइएको छ ।

ती व्यक्तिमा संक्रमा पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन् । सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टाइनमा राखिएको छ र उनको स्थिति स्थिर रहेको छ ।

अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गर्दै ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ बताएका छन् । तर, उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ ।

तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ । सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । विश्वमा बेलाबेलामा प्लेग देखा परिरहन्छ । सन् २०१७ मा म्याडग्यासकरमा ३ सय जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो ।

गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो । मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो ।

त्यहाँ मार्मटको काँचो मासु र मृगौला खाँदा स्वस्थ भइने लोकविश्वास भएको मङ्गोलियाको राजधानीमा कार्यरत विश्व स्वास्थ्य सङ्गठनका एक अधिकारीले बीबीसीलाई बताएका थिए । तर, उक्त जीवको सिकार अवैध हो ।

प्लेग भएपछि लिम्फ नोड अर्थात जसीका ग्रन्थिहरू सुनिन्छन् । सङ्क्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ । तर, ब्यूबनिक प्लेग महामारी बनेर फैलिने सम्भावना न्यून हुन्छ ।

त्यसोत चौधौँ शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै पाँच करोड मानिसको मृत्यु भएको थियो ।

सन् १६६५ मा प्लेग महामारीका कारण लन्डनमा बसोबास गर्ने २० प्रतिशत मानिसले ज्यान गुमाएका थिए । १९औँ शताब्दीमा चीन र भारतमा महामारी फैलिँदा एक करोड २० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस