भारतमा कोभिड बिरामीका आँखा बिगार्ने घातक ‘कालो ढुसी’

शनिवारको एउटा बिहान मुम्बईका एक नेत्र शल्यचिकित्सक डा. अक्षय नायर तीन हप्ताअघि कोभिड-१९ बाट निको भएकी एकजना २५ वर्षीया महिलाको आँखामा शल्यक्रिया गर्ने प्रतीक्षामा थिए।

अस्पतालको शल्यक्रिया कक्षमा ती डाइबेटिक बिरामीको एकजना नाक, कान, घाँटी विशेषज्ञ चिकित्सकले पहिले नै जाँच गरिरहेका थिए।

उनले नाकबाट एउटा नली पठाएर एक प्रकारको दुर्लभ तर खतरनाक ढुसी सङ्क्रमण म्युकोर्माइकोसिसबाट प्रभावित तन्तुहरू हटाइरहेका थिए।

यो उग्र प्रकृतिको सङ्क्रमणले बिरामीका नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई पनि असर गर्छ।

ती विशेषज्ञले आफ्नो काम सकेपछि डा. नायरले ती महिलाको आँखा निकाल्ने काम गर्नेछन्। उनले भने,” मैले यी बिरामीको ज्यान जोगाउन उनको आँखा झिक्नुपर्नेछ। यो रोग यति विघ्न खतरनाक छ।”

भारतमा कोभिड-१९ को घातक दोस्रो लहर चर्कँदै गर्दा चिकित्सकहरूले ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङक्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा बढ्दो रूपमा देखिएको बताइरहेका छन्।

म्युकोर्माइकोसिस के हो?
यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्दछ।

डा. नायर भन्छन्, “म्युकोर’ जताततै हुन्छ। माटो एवं हावामा र स्वस्थ मानिसको नाक र खकारमा पनि यो हुन्छ।”

यसले साइनस, मस्तिष्क र फोक्सोमा असर गर्छ र यो प्राणघातक पनि हुनसक्छः विशेषगरी डाइबेटिक अथवा शरीरको रोगप्रतिरोधी क्षमतामा गम्भीर कमजोरी देखिएका क्यान्सर वा एचआईभी एड्सका बिरामीहरूका लागि।

चिकित्सकहरूको विश्वासमा म्युकोर्माइकोसिस, जसको समग्र मृत्युकारक दर ५० प्रतिशत जति हुन्छ, स्टेरोइड ‌‌औषधिको प्रयोगका कारण देखापर्न थालेको हुनसक्छ।

कोभिड-१९ का गम्भीर अवस्थाका बिरामीलाई ज्यान जोगाउने औषधिका रूपमा हाल स्टेरोइडको पनि प्रयोग भइरहेको छ।

स्टेरोइडहरूले कोभिड-१९ का बिरामीहरूको फोक्सोमा देखिने इन्फ्लामेशन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोनाभाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा त्यसबाट पुग्नसक्ने केही क्षतिलाई रोक्न सघाउने देखिएको छ।

तर तिनले रोगप्रतिरोधी क्षमतालाई पनि कमजोर गराउँछन् र रगतमा चिनीको मात्रा, ब्लड सुगर लेभल, बढाउँछन्।

यस्तो डाइबिटिज भएका वा डाइबिटिज नभएका दुवैथरी कोभिड-१९ का बिरामीहरूमा हुन्छ।

यसरी रोगप्रतिरोधी क्षमतामा देखिने कमी नै म्युकोर्माइकोसिसको कारक हुनसक्ने ठानिएको छ।

डेक्सामेथासोनको सुई तयार पार्दै एक नर्स

स्टेरोइडहरू कोभिडका बिरामीहरूका लागि जीवन जोगाउने अत्यावश्यक औषधिहरू हुन्

“डाइबिटिजले शरीरको रोगविरुद्ध लड्ने क्षमतलाई कमजोर तुल्याउँछ, कोरोनाभाइरसले त्यो अवस्थालाई झन् खराब बनाउँछ र त्यसमा कोभिड-१९ सँग लड्न सघाउने स्टेरोइडले झन् आगोमा घ्यू थपेको जस्तो काम गर्छ,” डा नायर भन्छन्।

भारतमा कोभिडको दोस्रो लहरको सबैभन्दा धेरै मार परेका शहरमध्ये एक मुम्बईमा कार्यरत डा. नायर भन्छन्, उनले एप्रिल महिनामा मात्रै उक्त ढुसीको सङ्क्रमण भएका चालिस जनाजति बिरामी हेरिसकेका छन्।

तीमध्ये धेरैजसो कोभिड-१९ बाट घरमै निको भएका डाइबेटिकहरू थिए जसमध्ये एघार जनाको शल्यक्रिया गरेर आँखा निकाल्न परेको थियो।

प्रतिक्रिया दिनुहोस