ट्रमा सेन्टरका निर्देशकले भावुक हुँदै भने– पुलिसको दादागिरी चल्दो रहेछ, मेरो अस्पताल उनीहरुलाई नै जिम्मा लगाइदिनूस

काठमाडौँ– देशभर कोरोना माहामारी फैलिएको छ । अस्पतालहरु बिरामीले भरिएका छन् ।

अक्सिजन ग्यास, भेन्टिलेटरको अभाव भएको खबर जताततै सुनिन्छ ।

अक्सिजन अभाव भइरहेका बेला अक्सिजन कम्पनीले ट्रमा सेन्टरका लागि राखेको अक्सिजन ग्यास नेपाल प्रहरीले लगेपछि अस्पतालका निर्देशक डाक्टर सन्तोष पौडेलले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् ।
उनले लेखेका छन्,

‘अत्यन्तै मर्माहित छु साथीहरु !
बिहीबार साँझ ५ः४९ बजे ।
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो
‘सर, अक्सिजन सकिनै लाग्यो!’

‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४–४ घण्टामा दिने हैन र !
‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन । सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन ? अब १५ मिनेटलाई मात्र पुग्छ ।’
म कम्पनीलाई फोन गर्छु, ‘‘..जी खैत आज पनि त्यस्तै भो किन ? बिरामी त मर्छन् केहीबेरमा सप्लाई भएन भने त।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त ?’
ऊ– सर हजुरहरुलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए ।

हामीले के भन्ने सर, जबरजस्ती गरेपछि !
म ट्वाँ ! (रिस र पीडाले रुन मात्र सकिन)
म; अब के हुन्छ ?
ऊः हैन सर १० वटा पठइदिहाल्छु ।
मः यार तपाई ! मानिसहरु भेन्टिलेटरमा छन्, अक्सिजन बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई ! ती मानिसको मृत्यु भएमा जिम्मेवार को ? तपाई कि म ! कि ती ‘ठूला पुलिस’ ?
ऊ– सर त्यो त म के भनुँ ।

निःशब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू ?, बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस !
उताः ‘..यस्तै हो ..म बुझ्छु..!!
पीडा छ हजुर

जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु ,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु !’

डाक्टर पौडेलले सामाजिक सञ्जालमा राखेको पोस्ट पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस