“विनोद चाैधरीले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न १० करोड रुपैयाँ खर्चिने”

चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा काम गर्ने निर्णय गरेको छ ।कोभिड-१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आईसीयू वार्ड र नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने चौधरी फाउण्डेसनले जनाएको छ । यससम्बन्धी सहमतिमा एक-दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउण्डेसनबीच हस्ताक्षर हुने जनाइएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक-एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने प्रतिबद्वता जनाएको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ ।

यसले एक दिनमा ४० लिटर क्षमताका १५० सिलिण्डर अक्सिजन भर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।`तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध छौँ । यी कन्सन्ट्रेटरहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन्,´ फाउण्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने फाउण्डेसनक‍ो अनुमान छ । चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन जरुरी देखिएकाले फाउण्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

`अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य उपकरण हुन्,´ उनले भने, `हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ ।

हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौँ ।´चौधरी फाउण्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला देशभरका दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो । साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस