८६ वर्षीया कमलकुमारीको खुशीः जसले १७ दिन आइसीयू बसेर जितिन् कोरोना

काठमाडौं – म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका कमल कुमारी भट्टचन उमेरले आठ दशक पार गरिन्। तर उनमा जोश जाँगरको कुनै कमी थिएन। खाना पकाउने, घरमा काम गर्ने, गाईवस्तुलाई हेर्ने गर्थिन्। यतिसम्म की उनी घरमा आवश्यक पर्ने खाद्य सामग्री पनि खरिद गर्न पसलसम्म पुग्थिन्।

तर वैशाख १० गते उनी एक्कासी बिरामी परिन्। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने लक्षण देखियो। यही लक्षण परिवारका अन्य सदस्यलाई पनि देखिएको थियो।

मौसम परिवर्तनका कारण यस्तो भएको हो की भन्ने अनुमान उनीहरुले गरे। एक सातासम्म ८६ वर्षीया वृद्धा भट्टचन घरमै बसिन्। गाउँघरमै पाइने औषधिबाट उनको उपचार गरियो। तर उनी निको भइनन्। उल्टै अवस्था गम्भीर बन्दै गयो। स्वाद हराउने, पखाला लाग्ने समस्या पनि थपियो।

उनकी नातिनी एलिजा भट्टचन भन्छिन्, ‘मौसम परिवर्तन भएर होला भनेर हामीले घरमै राख्यौँ। आयुर्वेदिक अनि गाउँघरमै पाइने औषधिबाटै उपचार गर्‍यौं। तर झन् हजुरमुवाले खाना खान छाड्नुभयो। अवस्था गम्भीर हुँदै गयो।’

आमाको स्याहार गर्ने क्रममा उनकी छोरी अर्थात् एलिजाकी फुपु पनि बिरामी परिन्। लक्षण देखिएपनि उनीहरुको कोरोना परीक्षण गरिएको थिएन।

खाना मन नलाग्ने, स्वाद हराउने र अक्सिजनको मात्रा पनि कम हुँदै गएपछि मात्र कोरोनाको आशंका लाग्यो। त्यसपछि हजुर आमालाई गण्डकी अस्पताल र फुपुलाई पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवामा भर्ना गरिएको नातिनी एलिजा बताउँछिन्।

हजुर आमालाई अस्पताल भर्ना त गरियो। तर परीक्षण भइसकेको थिएन। गण्डकी अस्पतालमा कोरोनाको रिपोर्ट आउन तीन दिन लाग्ने भएपछि एलिजाले निजी प्रयोगशालामा कोरोना परीक्षण गराइन्।

उनले भनिन्, ‘गण्डकी अस्पतालमा रिपोर्ट आउन तीन दिन लाग्ने भनेपछि मैले निजी प्रयोगशालामा तीन हजार तिरेर परीक्षण गराएँ। सोही दिन रिपोर्ट आयो।’

प्रतिक्रिया दिनुहोस