यसकारण हुन्छ ब्लड क्यान्सर, कसरी बच्ने ?

काठमाडौँ । क्यान्सरको कारणले नेपालमा दैनिक ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ ।नेपालमा मात्रै होइन विश्वमै क्यान्सरको कारण वर्षेनी लाखौँले ज्यान गुमाउने गरेका छन् । क्यान्सर मानव शरीरमा जतिबेला पनि लाग्न सक्छ । तर क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘समयमै क्यान्सरलाई चिन्न सके निको हुन्छ ।’

क्यान्सरमध्ये पनि आज हामी ब्लड क्यान्सरको बारेमा चर्चा गर्दैछौं । ब्लड क्यासरको उपचार, रोकथाम र सजकताको बारेमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले जानकारी गराएका छन् ।
के हो क्यान्सर ?

मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ । जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ । तर धेरै बढ्नु क्यान्सर हुनु हो ।

कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्काे ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ ।

क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ । कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ ।

डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ ।

डा राजेन्द्र प्रसाद बराल

ह्वाइट ब्लडको सेल ४ हजार देखि ११ हजार सम्म हुनुलाई नर्मल संख्या मानिन्छ । यो संख्या भन्दा धेरै अर्थात ११ हजार भन्दा माथि हुँदा कन्ट्रोल गर्न सकिएन भने ब्लड क्यान्सर हुन्छ । ब्लड क्यान्सर पनि कोषिकाको अनियन्त्रित वृद्धि हो । केही समय पहिला ब्लड क्यान्सरलाई डरलाग्दो रुपमा हेर्ने चलन थियो ।

त्यतिबेला क्यान्सरको उपचारमा पनि खासै विकास भएको थिएन । तर अहिले ब्लड क्यान्सरको उपचार नेपालमानै सम्भव भएको छ ।

ब्लड क्यान्सरमा पनि क्रोनिक ब्लड क्यान्सर भएकालाई ट्याब्लेट खुवाइन्छ । एक्यूट ब्लड क्यान्सरलाई भने किमोथेरापी नै दिनुपर्ने हुन्छ । क्यान्सर मात्रै होइन कुनै पनि रोग सुरुमानै पत्ता लगाउँदा कम खर्चिलोका साथै उपचारमा पनि सहज हुन्छ । ढिलो भएर रोग फैलिसक्दा गाह्रो हुन्छ ।

ब्लड क्यान्सरका लक्षणहरु
यो कारणले क्यान्सर हुन्छ भन्ने कुनै पनि तथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई मात्रै होइन अरुलाई पनि क्यान्सर हुनसक्ने सम्भावना हुन्छ ।

जुन परिवारका सदस्यहरुमा क्यान्सर भएको छ त्यस्ता परिवारका व्यक्तिहरुले क्यान्सरको नियमित परीक्षण गर्न जरुरी हुन्छ ।

ब्लड क्यान्सर समयमानै पत्ता लगाउन नसक्दा गिजा, नाक, कानबाट पनि रगत बग्नसक्ने सम्भावना हुन्छ ।

जसले गर्दा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ । कुनै ब्लड क्यान्सरको बिरामीलाई किमोथेरापी दिइन्छ । कुनै –कुनै ब्लड क्यान्सरमा बोनम्यारो ट्रान्सप्लानटेसन सुरु हुन्छ । हाल यो नेपालको सिभिल अस्पतालमा सुरु भइसकेको छ । स्पष्ट भाषामा भन्नु पर्दा नेपालमा धेरै प्रकारको क्यान्सरको उपचार सम्भव भइसकेको छ ।

आत्मविश्वास नै औषधि
जुनसुकै क्यान्सर लाग्ने बिरामीले म रोगलाई जित्छु, निको हुन्छु भन्ने आत्मविश्वास बढाउन सके त्यस्ता बिरामीलाई औषधिले छिटो छुन्छ । यस्ता बिरामी अरु बिरामी भन्दा छिटो निको हुन्छन् । आत्मविश्वास ठूलो औषधि हो ।

त्यसैले क्यान्सर लागेको बिरामीलाई आत्मविश्वास बढाउनको लागि परिवारको ठूलो भूमिका हुन्छ । अन्य देशमा बिरामीलाई रोगको अवस्था, कुन अवस्थामा छ र कति खर्च लाग्छ भनेर चिकित्सक आफैले भन्ने गर्छन् ।

तर नेपालको सन्दर्भमा भने ९५ प्रतिशत क्यान्सर गोप्य राखिन्छ । आफन्तले बिरामीलाई नभन्न अनुरोध गर्छन् । तर जुन बिरामीले आफ्नो रोगको बारेमा थाहा पाउँछन् त्यो बिरामीले रोगसँग लड्ने क्षमताको विकास गर्न सक्छ ।

क्यान्सरलाई ठूलो रोग भन्दा पनि निको हुने अन्य रोग जस्तै हो भन्ने तरिकाले हेर्न जरुरी छ । क्यान्सरलाई जित्न सकिन्छ भन्ने सन्देश परिवारले बिरामीलाई दिन सक्नुपर्छ ।

कसरी बच्ने ?
विश्व स्वास्थ्य संगठनले ५० प्रतिशत क्यान्सर हाम्रो दैनिक जीवनयापनमा भरपर्ने कुरा हो भनेर प्रमाणित गरिसकेको छ । त्यसैले सामान्य तरिका अपनाए क्यान्सरबाट बच्न सकिन्छ ।

– सूर्तिजन्य पदार्थ सेवन नगर्ने ।

– मादक पदार्थ सेवन नगर्ने ।

– केमिकल हालेको खानेकुरा नखाने ।

– प्राकृतिक खाना खाने ।

– नुन धेरै नखाने ।

– ढुसी परेको खानेकुरा नखाने ।

– रातो र सेतो मासु खाने ।

–साकाहारी बन्न जोड दिने ।

प्रतिक्रिया दिनुहोस