“सीजीले” सुरु गर्‍यो इन्टरनेट सेवा अर्थ |

काठमाडौँ, जेठ १९ गते । चौधरी समूहअन्तर्गतको सीजीनेटले इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि काठमाडौँका केही स्थानबाट सेवा सुरु गरेको हो । कम्पनीका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा उपलब्ध हुनेछ । बिस्तारै देशैभर यो सुविधा उपलब्ध गराउने चौधरी समूहका महाप्रबन्धक मधु पौडेलले जानकारी दिनुभयो ।

“२०७८ सालभित्रै देशका सबै ठाउँमा यो सेवा पुर्‍याउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकाका लागि भने पूर्वाधार विस्तारको काम भइरहेको र छिट्टै नै यो सुविधा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । सीजीनेटले तत्कालका लागि १२० एमबीपीएसको इन्टरनेट मासिक मूल्य अभिवृद्धि करबाहेक ९९९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त गतिमा यो मूल्य अहिलेसम्मकै सबैभन्दा सस्तो हो । अहिले औसतमा नै एक हजार तीन सय रुपियाँ हाराहारीमा रहेको फिक्स्ड इन्टरनेट कम्पनीले सुलभ मूल्यमा उपलब्ध गराएको हो ।

“नेपालको अहिलेको इन्टरनेट मूल्य महँगो छ,” पौडेलले भन्नुभयो, “सीजीको प्रवेशले इन्टरनेटको समग्र मूल्य नै घट्नेछ भन्ने हाम्रो विश्वास छ । ”कम्पनीले हाल उपलब्ध गराएको मूल्य नबढ्ने गरी नै देशैभर सेवा उपलब्ध गराउने दाबी गरेको छ । इन्टरनेटको मूल्य भविष्यमा थप घटाउने तर अहिले निर्धारण गरेकोभन्दा नबढ्ने महाप्रबन्धक पौडेलले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस