यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौँ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउछन् ।

“मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ”, पोखरेलले भने, “त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ ।”

विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ ।

प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, “विगतका वर्षको अनुभव हेर्दा साउन­असोजमा बढी प्रभाव पारेको देखिएको छ ।” उनले बाढी­पहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउछन् ।

प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पुर्याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ ।

जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानूनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्नेर समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउछन् ।

सोही पूर्व तयारीका लागि आज प्राधिकरणले समन्वयात्मक रुपमा भर्चुअल बैठक समेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा क्षति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड जोड दिन्छन् । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खौँचो रहेको उहाँले औँल्याए ।

प्रतिक्रिया दिनुहोस