‘दुर्लभ’ आँपका बोटलाई सुरक्षा दिन ६ कुकुर र चार गार्ड

काठमाडौं :

अहिले आँपको मौसम छ । बजारमा किसिम किसिमका जताततै आँपै आँप छन् । तर के तपाईलाई बिश्वास लाग्छ? कुनै परिवारले आँपको बगैँचाको सुरक्षाका लागि ६ कुकुर र ४ जना गार्ड सहितको पहरा दिन्छ भनेर? भारतमा यस्तै भएको छ ।

एक दम्पतीले लगाएको आँपको बोटमा जब गत वर्ष आँप फले ती हरिया थिएनन् न त पाकेपछि पँहेला भए। ती दुई बोटमा फलेका आँप रूबी रङका थिए। अनौठा आँप फलेपछि परिहर दम्पती चकित परे। उनीहरूले आँप किन र कसरी रूबी रङको भयो भन्नेबारे बुझ्दै गएपछि थाहा पाए, उनीहरूको बगैंचामा भएको आँप मियाजाकी प्रजातिको हो ।

जापानको मियाजाकी शहरको नामबाट यसको नाम राखिएको हो । मियाजाकी विश्वमै सबैभन्दा महंगो आँपमध्ये एक हो। अन्तर्राष्ट्रिय बजारमा गत वर्षमात्रै किलोको दुई लाख ७० हजार भारतीय रुपैयाँमा बिकेको थियो।

परिहर दम्पतीको बगैंचामा दुर्लभ र महंगो आँप फलेको थाहा पाएपछि गत वर्ष चोरी पनि भएको थियो । आँपहरू चोरी भए पनि उनीहरूले रूख भने जोगाउन सफल भएका थिए । त्यसरी नै फेरि चोरी हुने डरमा छन् परिहर दम्पती । आफ्ना महंगा र दुर्लभ आँप चोरी हुनबाट जोगाउन उनीहरूले सुरक्षा दिएका छन् ।

दम्पतीले आँप जोगाउन चार जना सुरक्षा गार्ड खटाएका छन् भने ६ वटा कुकुर पनि पालेका छन् । यो खालको आँप भारतमा बिरलै पाइने हिन्दुस्तान टाइम्सले जनाएको छ । मियाजाकी आँपलाई सूर्यको अण्डा पनि भनिन्छ ।

भारतको मध्यप्रदेशस्थित जबलपुरका एक जोडीले दुई वर्षअघि आफ्नो बगैंचामा आँपका बोट रोपेका थिए। संकल्प परिहर र रानी परिहर दम्पतीले बगैंचामा अरू रूख रोप्दा आँप पनि लगाएका थिए ।

त्यतिबेला उनीहरूले आफूले रोपेका आँपका बोट पनि भारतमा भएका अरू आँपजस्तै फल लाग्छ होला भन्ने ठानेका थिए । उनीहरुको समाचार अहिले बिश्वभरी फेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस