गोरखामा सहुलियत दरको चामल खरीद गर्नेको भिड

गोरखा- खाद्य तथा ब्यापार कम्पनी लिमिटेड गोरखा शाखाबाट दुई साताको बिचमा साढे ४ सय क्विन्टल चामल बिक्री भएको छ ।निषेधाज्ञाका कारण प्रभावित बनेकाहरुलाई लक्षित गरी कम्पनीले जेठ २३ गतेबाट सहुलियत दरमा चामल बिक्री शुरु गरेको हो । हालसम्म ४ सय ४६ क्विन्टल चामल बिक्री भएको कम्पनीका शाखा प्रमुख नविन बस्नेतले बताउनुभयो ।

शाखा कार्यालयमा चामल खरीद गर्न आउनेको संख्या अझै पनि उच्च रहेको उहाँले बताउनुभयो । २० प्रतिशत छुटमा बिक्री गर्दा पनि दुई साताका विचमा २५ लाख रुपैयाँ मूल्यको चामल बिक्री भएको बस्नेतले जानकारी दिनुभयो । शाखाको गोरखा सदरमुकामस्थित डिपोमा सोना मनसुली र मकवानपुरे चामल १ हजार ८६ क्विन्टल मौज्दात रहेको छ ।

यस्तै सिर्दिवास डिपोमा २ शय ७३ र माछिखोला डिपोमा १ सय ४९ क्विन्टल चामल बाँकी रहेको कम्पनीले जनाएको छ । कम्पनीले गोरखा सदरमुकामसहित उत्तरका दुई डिपोबाट निषेधाज्ञा अवधिभरका लागि २० प्रतिशत छुटमा चामल बिक्री थालेको हो ।छुट मूल्यअनुसार ५१ रुपैयाँ ३० पैसामा बिक्री हुँदै आएको सोना मनसुली चामल प्रतिकेजी ४१ रुपैयाँ ४ पैसामा बिक्री गरिएको छ ।

६४ रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको स्टिम जिरा मसिनो चामल ५१ रुपैयाँ २० पैसामा विक्रि भएको छ ।कार्यालयमा अब मकवानपुरे र सोना मन्सुली चामल मात्र स्टक रहेको बस्नेतको भनाई छ । ४९ रुपैयाँमा बिक्री हुँदै आएको मकवानपुरे चामल ३९ रुपैयाँ २० पैसामा बिक्री भैरहेको बस्नेतले बताउनुभयो ।

परिचय खुल्ने कागजपत्रका आधारमा प्रतिपरिवार १ बोरा मात्र चामल उपलब्ध गराउने कम्पनीले जनाएको छ । सदरमुकामको गोदामबाट यसअघि फाट्टफुट्ट मात्र चामल बिक्री हुँदै आएको थियो । तर अहिले मुल्यमा छुट भएपछि खरिदकर्ताहरु बढेका छन् ।।

प्रतिक्रिया दिनुहोस