कामी भएकै कारण रुपाले कोठा पाइनन् : ज्योती मगर

सञ्चारकर्मी रुपा सुनुवारलाई जातकै कारण कोठा नदिएको र कोठा नदिने घरबेटीलाई सरकारकै मन्त्रीले छुटाउँदै गाडीमा हालेर घर पुर्‍याई दिएको घटनाले अहिले सामाजिक सञ्जाल तातिएको छ ।

रुपा सुनुवारमाथि जातीय विभेद गर्ने घरबेटीलाई सरकारकै मन्त्रीले संरक्षण दिएको भन्दै चर्को आलोचना र वहस चलिरहेका बेला गायिका/कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रष्ट भएकाले कुरा बंग्याउन आवश्यक नभएको बताएकी छन् ।

आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन् ।

‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन् । जति नै तर्क–वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा सुनार कामी भा’कै कारण प्रधानको घरमा कोठा नपाको प्रष्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना हुनु निन्दनीय र अमानवीय हो ।’

जो चोर उसकै ठूलो स्वर भने जसरी सामाजिक सञ्जालमा दलितलाई गाली गरिएको भन्दै कलाकार मगरले सके सत्यको पक्ष लिनु नसके झुटोलाई साथ नदिन आग्रह गरेकी छन् । ‘कति बकम्फुसे तर्क गरेको हौ फेसबुकमा,’ उनले लेखेकी छन्, ‘सक्छौ सहीलाई साथ देऊ, सक्दैनौ गलतलाई पनि साथ नदेऊ ।’

प्रतिक्रिया दिनुहोस