प्रदेश २ – महन्थपक्षका सांसद्को हरिबिजोक

काठमाडौँ । केन्द्रमा जसपा २ गुटको लडाईका कारण प्रदेश २ मा महन्थ ठाकुर पक्षका सांसद्हरुको बिचल्ली भएको छ । यसअघि तत्कालीन सत्ततरुढ जसपाका मुख्यमन्त्री लाल बाबु राउतले कांग्रेस सँग मिलेर सरकार निर्मण गरेपछि जसपा महन्थ पक्षका सांसदहरु अलपत्र भएका छन् । ठाकुर पक्षमा रहेका केही प्रदेश सांसद उपेन्द्र यादवका पक्षमा लागेका छन् भने बाँकी सांसद अलपत्र परेका हुन् ।

ठाकुर पक्षका प्रदेश २ का सांसद विक्की यादवले फेसबुकमै आफ्नो असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्, ‘जसपा अन्तरर्गत राजपा खेमाका नेतृत्वका असक्षमताको कारण पार्टी गतिहीन र दिशाविहीन, राष्ट्र राजनीति, संगठन बनाउने अथवा जनताको बीचमा जाने स्पष्ट दृष्टिकोण वा ठोस योजना नभएको कारण प्रदेशसभा सदस्यलगायत नेता कर्याकर्ताहरु अलपत्र अवस्थामा ।’
उनको यो स्ट्याटसले जसपा केन्द्रको गुटगत राजनीतिले प्रदेशमा धक्का दिएको प्रष्ट देखिन्छ ।

सांसद विक्की यादवले भने, ‘पार्टी गुटमा विभाजित भएपछि पूर्व राजपाका प्रदेश सांसद अलमलमा छन्, के गर्ने र के नगर्ने भन्ने अन्योल देखिन्छ । नेतृत्व तहबाट कुनै निर्देशन नभएको र छलफलसमेत हुन नसकेको उनले बताए ।
जसपाका ५५ जना सांसदमध्ये ३० जना सांसद पूर्व समाजवादी पार्टीका छन् भने २५ जना पूर्व राजपाका छन् । पूर्व राजपाका २५ जनामध्ये ६ जना उपेन्द्र यादवको पक्षमा लागेका छन् । बाँकी १९ जनालाई पनि महन्थ ठाकुरले व्यवस्थापन गर्न नसकेको गुनासो आइरहेको छ ।
महन्थ ठाकुर पक्षका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि भागबण्डामा लागेको बेला जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर गएर बसेका थिए । उनको सोही बसाइका क्रममा काँग्रेस, माओवादी केन्द्र तथा महन्थ ठाकुर पक्षकै सांसदहरुसँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गरिएको थियो ।
उपेन्द्र यादव प्रदेश २ मा योजनावद्ध रुपमा खेलिरहँदा केन्द्रमा महन्थ ठाकुरका पक्षका नेताहरु भने भागबण्डामा व्यस्त थिए । जसले गर्दा उक्त समूहले प्रदेश २ प्रदेशसभाका आफ्ना सांसदलाई व्यवस्थापन गर्न नसकेको सोही पक्षका स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् ।
प्रदेश २ मा महन्थ पक्षका नेताहरुको बिचल्लीभएपछी आफ्नै नेतृत्वका महन्थ माथि सांसद्हरु खनिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस