विश्वमै दुर्लभ सुनौलो तोपचराको सङ्ख्या नेपालमा घट्दै

धनगढी, असार १३ गते । नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोप चराको सङ्ख्या घट्दै गएको छ । प्रकृतिमाथि मानवीय अतिक्रमण बढ्दै जाँदा विश्वमै दुर्लभ सुनौलो तोप चराको सङ्ख्या घट्दै गएको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) को रातो सूचीमा रहेको सुनौलो तोपचरा नेपालमा अति संवेदनशील मानिन्छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट सन २००७ देखि नै हराइ सकेको यो चरा प्रजातिको सङ्ख्या शुक्लाफाँटामा पनि कम हुँदै गएको छ । निकुञ्ज कार्यालय र नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) ले यस वर्ष संयुक्त रुपमा गरेको गणनाको क्रममा शुक्लाफाँटामा २४६ वटा फेला परेका छन् । गतवर्ष सो निकुञ्जमा २५४ वटा सुनौलो तोप चरा अभिलेख गरिएको थियो ।

यसअघि, २०१७ मा ३०० र २०१९ मा गरिएको गणनाको क्रममा सो निकुञ्जमा १७४ वटा जति तोप चरा पाइएको थियो । नेपाल र भारतमामात्रै पाइने सुनौलो तोप चराकोसङ्ख्या दुवै देशमा घटिरहेकाले विश्वमै अति सङ्कटापन्न सूचीमा यो चरालाई राख्ने पनि छलफल चलिरहेको बताइन्छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी ताल क्षेत्र, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र दरख घाँसे मैदानमा सुनौलो तोपचरा पाइन्छन् ।

सबैभन्दा पहिले सन १९९६ मा शुक्लाफाँटामा सुनौलो तोपचरा रहेको तथ्य चराविज्ञ डा. हेमसागर बरालले पत्ता लगाउनुभएको थियो । आफ्नो विद्यावारिधिका लागि अनुसन्धान गर्ने क्रममा उहाँले ११ वटा सुनौलो तोपचरा फेला पार्नुभएको थियो । त्यसपछि सन २००८ मा उहाँले नै शुक्लाफाँटाको सिकारी ताल आसपासमा तोपचराले ‘ब्रिडिङ’ गर्ने गरेको पत्ता लगाउनुभएको थियो ।

प्रकृतिमाथि मानवीय हस्तक्षेप बढ्दै जानू, प्राकृतिक बासस्थानको विनाश, कृषिमा विषादीको प्रयोग जस्ता कारणले सुनौलो तोप चराको अस्तित्व खतरामा परेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । ‘सुनौलो तोपचरा तराई क्षेत्रमा मात्रै पाइने गर्दछन्’, उहाँले भन्नुभयो । ‘तर, मानवीय कारणले यो चराको अस्तित्व खतरामा छ ।’

नेपालमा छातिकाले, धर्के, बया र सुनौलो गरेर चार प्रजातिका सुनौलो तोप चरा पाइने गर्दछन् । नेपाल–भारत सीमा नजिक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४५० प्रजातिका चराको बसोबास रहेको छ । जसमध्ये विश्वमै दुर्लभ २३ र नेपालका लागि अति सङ्कटापन्न ७४ प्रजातिका चरा छन् ।

प्रतिक्रिया दिनुहोस