सामाजिक सुरक्षा कोषमा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएको बताएको हो ।

कोषमा १४ हजार ५८० रोजगारदाता सुचिकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताउनुभयो ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको उहाँले बताउनुभयो ।

कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाएको छ ।

प्रवक्ता पन्तले आ.व. २०७६÷७७ भित्र सुचिकृत योगदानकर्ता कोषको आ.व. २०७६÷७७ को वृद्धावस्था सुरक्षा योजना अन्र्तगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको बताउनुभयो । सो रकम कोषले सम्वन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा चाडै जम्मा गरिदिनेपनि उहाँले बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको हो । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सबैलाई आव्हान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस