नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध : पहिरोले लागेर दुई घाइते

चितवन, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ”, उहाँले भन्नुभयो, “ठूलो पहिरो खसेकाले हटाउन चार/पाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ ।” पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ । “बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुनसकेको छैन”, प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।

पहिरोले लागेर दुई घाइते

यसैबीच तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन् । दुवै जना बेँसीशहर निवासी हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस