उपत्यकामा निषेधाज्ञा पुंन १ साता थपिने

काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । आइतबार बेलुका बस्ने काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्ने भएको छ ।अहिले जारी निषेधाज्ञा सोमबार मध्यरातसम्म कायमै छ । गोरखाली खबरसँग कुरा गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तीनै सीडीओहरुले एकसाता निषेधाज्ञा थप गर्ने कुरामा मतैक्य भएपनि थप क्षेत्रलाई खुलाउने बारे स्वास्थ्य मन्त्रालयको सुझावका आधारमा निर्णय गरिने बताए ।

आइतबार बेलुका अथवा सोमबार बिहान बस्ने तीन सीडीओको संयुक्त बैठकले थपिने निषेधाज्ञा अवधिमा कस्तो आदेश जारी गर्ने भन्नेबारे निर्णय गर्नेछन् । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।
अहिले निजी सवारी साधन जोर बिजोर र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातलाई चल्न दिइएको छ । आन्तरिक जहाजलाई पनि ५० प्रतिशत अकुपेन्सीमा उड्न दिइएको छ । अत्यावश्यक बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । तर, निषेधाज्ञा खुकुलो भएसँगै सवारी पास लिएर उपत्यका प्रवेश गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस