टिकटकमा भाइरल गाउँले घर जुन ४० लाखमा बनेको कसको होला ???

काठमाडौ । नयाँ सामाजिक सञ्जाल भिडियो प्लाटफर्म टिकटकमा यो घर खुबै भाइरल बनेको छ । यो घर बनाउँन ४० लाख लागत लाग्यो भन्दा जो कोहीले पत्याएका छैनन् । यो घर चितवन सदरमुकाम भरतपुरबाट नजिकै रहेको ठिमुरामा बनेको छ । यो घर अहिले अरु सामाजिक सञ्जालमा निकै चर्चित भइरहेको छ।

नारायणगढ बजारबाट करिब ५ किलोमिटरका दूरीमा रहेको ठिमुरा भन्ने ठाउँमा त्रिशूली नदीको आडैमा यो सुन्दर घर देख्न सकिन्छ। यो हाडजोर्नीको समस्या भएका बिरामीको उपचारका लागि चितवनमा चर्चा कमाएका डाक्टर प्रमोद लामिछानेले बनाएको घर हो । डाक्टर लामिछानेको पुर्ख्यौली घर लमजुङको राइनास–८ हर्राबोट हो। २०७२ सालमा आएको भूकम्पले उनकोमात्रै नभएर गाउँका प्रायःको घर भत्कायो।

‘आफू जन्मे–हुर्केको, पढे–खेलेको त्यो घर गुमाउनुपर्दा लामिछानेलाई असाध्यै पीडा भएको रहेछ । बुबाले बनाएको पहाडी मौलिकता झल्कने त्यति राम्रो घरको कल्पना गरेर नै उनले यो घर बनाएका रहेछन् ।

मौलिक शैलीमा केही नयाँपन दिएर यो घर तयार पार्न इन्जिनियर साजन अधिकारीले काम गरेका छन् । २ महिनामा तयार भएको यो घरमा ७ वटा कोठा छन्। भुइँ तलामा तीन, दोस्रोमा तीन र तेस्रो तलामा एउटा हल कोठा छ।

यो घर हेर्दा ठ्याक्कै पहाडी शैलीको देखिए पनि निर्माणका क्रममा आधुनिक विधि र प्रविधिको पनि प्रयोग गरिएको छ। पिलर, गारोलगायतका संरचना तयार पार्न कंक्रिटकै प्रयोग गरिएको छ। फलामे डण्डी नै राखिएको छ ।

घरको बार्दली, भर्‍याङ, दलिन, डाँडा, भाटालगायतको निर्माणमा साल र वन सिसौका काठको प्रयोग गरिएको छ। २० वटा आँखीझ्याल छन्। तेस्रो तल्लाको चारैतिर राखिएका बार्दली निकै आकर्षक देखिन्छन्। यो घर तयार पार्न ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको लामिछानेले बताएका छन् । उनले यो बनाउँन ४० लाख खर्च गरे भन्दा सामाजिक सञ्जालमा नपत्याउनेहरुपनि धेरै छन् ।

प्रतिक्रिया दिनुहोस