हामीले खासै वास्ता नगर्ने बियाँका छन् धेरै फाइदा !

फर्सीका बियाँ, आलस, भाङ, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुन्छ । यसमा पर्याप्त मात्रामा रेसादार तत्त्व हुन्छ, खाना पचाउन पनि मदत गर्छ। यसमा रहेको ओमेगा ३ फाटी एसिडले स्वास्थ्यमा लाभ पुर्‍याउँछ ।

ओमेगा ३ को महँगो क्याप्सुल किनेर खानै पर्दैन । विभिन्न अध्ययनहरूले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख गरेका छन् । त्यसै गरी बाथ रोगीलाई पनि फाइदा गर्छ भनिएको छ। यसलाई भुटेर, पिसेर, सलादमा वा तरकारीमा हालेर खान सकिन्छ ।

मैले चाहिँ प्रत्येक दिन आलस, तिल, भाङ एक चम्चा खान्छु । क्याल्सियम चक्की खान्न, खानै पर्दैन। बजारमा भाङको तेल पनि पाइन्छ । कति जनाले भाङको बीउ खायो भने भाङको नशा लागे जस्तै हुन्छ भन्ने गर्छन् तर यसको बीउले नशा भने लाग्दैन ।

त्यस्तै अर्को हो, फर्सीको बियाँ । कतिले भुटेर, कतिले दिउल निकालेर काँचै खान्छन् । धेरैका घरमा भने वास्ता नगरिएकै खाद्य वस्तु हो । फर्सीको बियाँमा लुकेको सूक्ष्म पौष्टिक तत्त्वबारे थाहा नपाइ खाए पनि विभिन्न किसिमका महँगा भिटामिनहरू किनेर खानै पर्दैन ।

फर्सीका बियाँ प्रायः फालिन्छन् तर तिनको महत्त्व थाहा पाएकाहरूले भने भान्छामा जतन गरेरै राख्छन् । पहिले पहिले बूढाबूढीहरूले फर्सीको बियाँ सुकाएर राख्थे । धेरैले त्यसको बाहिरी पत्र छोडाएर दिउल मात्रै खान्छन् । कतिले चाहिँ बाहिरको बोक्रै समेत भुट्छन् र छोपका रूपमा समेत प्रयोग गर्छन् । दिउल मात्र खाए जस्तो मिठो स्वाद नभए पनि साह्रै पोषणयुक्त हुन्छ ।

पहाडतिर दूध, च्यूरा र दहीसँग फर्सीको दिउल मिसाएर पनि खान्छन् । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् । यसमा प्रशस्त मात्रामा जिङ्क पनि पाइन्छ सूूर्यमुुखीको फूलको सुन्दरता देखेर हामी खुसी हुन्छौ तर यसको बीउ पनि स्वास्थ्यवर्धक छ भन्ने विचार शायदै आउँछ । सूर्यमुुखी तेल अहिले कति जनाले प्रयोग गर्छन् तर तेल निकाल्ने बीउको चाहिँ वास्ता गरिएको पाइँदैन ।

युरोपका विभिन्न देशमा जाँदा सूूर्यमुुखीको बीउबाट बनाइएको मिठाइ चाहिँ मैले खाएको छु । अब कुरो आयो ‘के छ त सूूर्यमुुखीको बीउमा त्यस्तो विशेष ।’ यसमा भिटामिन ‘इ’ हुन्छ, यसले मुटु स्वस्थ राख्छ ।

त्यसमा पाइने म्याग्नेसियम नामक तत्त्वले मांसपेशी र हड्डीको स्वास्थ्य राम्रो राख्छ पहिले आलस अपहेलित थियो । अहिले धेरैले प्रयोग गर्न थालेका छन् । अहिले त यो क्याल्सियम, ओमेगा ३, रेसादार पदार्थको राम्रो स्रोत हो भन्ने बुझाइ छ । आलसमा अर्को महत्त्वपूर्ण पौष्टिक तत्त्व लिगनेन हुन्छ ।

लिगनेन एन्टिवायरल, एन्टिफङ्गल र क्यान्सर विरोधी हुन्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । लिगनेनले कोलेस्ट्रोल घटाउँछ र ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । मासिक धर्म सम्बन्धी अनियमिततालाई पनि ठिक गर्छ ।

विशेष गरी महिलाहरूको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न आलसको सेवन राम्रो मानिन्छ । यसलाई छोप बनाएर खान सकिन्छ । भुटेर दानै सलादमा हाल्न पनि सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानुपर्छ । यसबाहेक हामीकहाँ सिलाम, तिल, फिलिङ्गो, कुभिन्डोको बियाँ आदि धेरै कुरा छन् । यस्ता पौष्टिक तत्त्व भएका बियाँ वा दिउलहरूबारे खोजी गर्ने र जतन गरेर उपयोग गर्ने सीपको भने अभाव छ । श्रोत- Aruna Uprety

प्रतिक्रिया दिनुहोस