यी हुन् प्रदेश २ मा माओवादीबाट मन्त्री बन्ने सांसद्हरु

काठमाडौं । प्रदेश २ सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रले मन्त्री चयन गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ । यो दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका मन्त्री छन् ।

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस