अफ्गानिस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टी इन्टरनेसनलद्धारा युद्ध अपराधको संज्ञा

लण्डन । अफ्गानिस्तानमा तालिबानले सेनाको हत्या गरेको घटनाप्रति मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ ।मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विद्रोही लडाकु समुह तालिबानद्धारा २२ जना अफ्गानी सेनाको हत्यालाई युद्ध अपराधको संज्ञा दिँदै निन्दा गरेको छ ।

अफ्गानिस्तानको उत्तरी क्षेत्रमा तालिबान लडाकु समुहले आत्मसमर्पण गर्ने २२ सैनिकहरुको ज्यान लिएको हो । गत महिना अफ्गानिस्तानको उत्तरी क्षेत्रहरु दउलत अबद क्षेत्रमा सेनाहरुलाई मारेको भिडियो पछिल्लो समय अमेरिकी टेलिभिजन सीएन्एन्ले सार्वजनिक गरेको हो ।

घटनास्थलबाट २२ जना सेनाको शव फेला परेको रेड क्रसले जनाएको छ । मानव अधिकारकर्मीहरुले अफ्गानी सरकार समक्ष घटनामाथि छानबीनको माग गरेको छ । एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसिया अभियानकर्ता समिरा हमिदीले अफ्गानिस्तानको दर्दनाक अबस्था यो घटनाले देखाएको टिप्पणी गरेकी छन् ।

तालिबानले आत्मसमर्पण गर्ने सेनाको ज्यान लिएको घटना युद्ध अपराध रहेको उनले बताईन् । तालिबानले अफ्गानिस्तानमा आतंकवादी गतिविधिहरु अन्त्य गरेको दाबी गर्दै आएपनि मानव अधिकार उल्लंघन र हत्याको घटनाहरु भईरहेको छ । स्रोत जी फाईभ

प्रतिक्रिया दिनुहोस