देउवालाई विश्वासको मत दिन हेलिकप्टरमार्फत आए गगन

पोखरा । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा हेलिकोप्टरमार्फत काठमाडौं जान लागेका छन् । दुई दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिने आकस्मिक निर्णय गरेपछि हेलिकोप्टरमार्फत काठमाडौं फर्किन लागेका हुन् ।

उनको साथमा पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन् । थापा पोखराबाट आज बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा थिए । तर मौसम खराब भएपछि उनी स्थलमार्ग (पृथ्वी राजमार्ग) हुँदै काठमाडौं जाँदै थिए ।

तनहूँको दमौली भन्दा केही अघि पुगेपछि पहिरोका कारण सडक अवरुद्ध भएपछि उनी दमौलीमा रोकिएका छन् । त्यसपछि उनी हेलिकोप्टर मगाएर काठमाडौं फर्किने तयारी गरिरहेको नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।

नेता थापाद्धय हाल नेपाली कांग्रेस तनहूँको पार्टी कार्यालयमा छन् । कांग्रेस नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि थापा शनिबार बिहान पोखरा आएका थिए ।

प्रतिक्रिया दिनुहोस