गृष्मकालीन ओलम्पिक आजदेखि,यी हुन् सहभागी नेपाली खेलाडी

एजेन्सी । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिककाे औपचारिक उद्घाटन हुन लागेकाे हाे । नेपाली समय अनुसार आज अपरान्ह ४ बजेपछि टोकियोस्थित राष्ट्रिय रंगशालामा ‘युनाइटेड बाई इमोसन’ थिममा ओलम्पिक उद्घाटन हुनेछ । 

ओलम्पिक खेलकुदलाई विश्व खेलकुदको कुम्भमेलाका रुपमा लिइन्छ । काेभिड महामारीका कारण याे कुम्भ मेला प्रभावित भएकाे छ । विगत वर्षहरुमा जस्ताे तडक भडक र दर्शककाे सहभागीता हुने छैन ।

अप्रत्यासित रुपमा १ वर्ष थप तयारीको समयसहित २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले अबको दुई साता टोकियोमा प्रतिस्पर्धा गर्नेछन् । लामो समयदेखि गरेको तयारीको आधारमा पदक जित्न प्रयासरत हुनेछन् ।

सन् २०२० को मार्च महिनामै ओलम्पिक १ वर्ष पार्ने निर्णय गरिएको थियो । तर अहिले पनि कोरोना महामारी पूर्ण रुपमा साम्य भइसकेको छैन । अध्याँरो सुरुङबाट प्रकाशको किरणका रुपमा ओलम्पिक उद्घाटनमा प्रदर्शनी गरिनेछ ।

ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । पौडीकी गौरिका सिंहले दोस्रोपल्ट ओलम्पिक खेल्दैछिन् ।

गौरिकासहित पौडीकै एलेक्स साह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट जापान पुगिसकेकी छन् भने एथलेटिक्सकी सरस्वती चौधरी आइतबार जापान प्रस्थान गर्नेछिन् । उनको खेल ढिला भएकाले उद्घाटन समारोह गुमाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस