साफ प्रतियोगिताको आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

काठमाडौं । आगामी अक्टोबरमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्नकालागी दक्षिण एसियाली फुटबल महासंघ ले एन्फालाई औपचारिक प्रस्ताव गरेको छ ।

एन्फाले दिएको जानकारी अनुसार साफ महासचिव अनवरुल हकले च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र पठाएका छन् । तुलाधरले भने, ‘अब हामी च्याम्पियनसिपको विस्तृत प्रस्ताव तयार गर्छौं र स्वीकृतिका लागि साफ पठाउनेछौँ ।’

स्वीकृतिको अन्तिम निर्णय एन्फाको प्रस्ताव समीक्षा गरेपछि साफ अध्यक्ष र कार्यकारी समितिले लिनेछ ।

बंगलादेश फुटबल महासंघले देशमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण आयोजना नगर्ने भएपछि सदस्य देशहरूबीच २३ जुलाइमा आयोजक देशको बारेमा बैठक भएको थियो । नेपालमा यसभन्दा पहिले सन् १९९७ र दोस्रो २०१३ मा दुईपटक साफ च्याम्पियनसिप आयोजना भइसकेको छ ।

२०१३ मा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो । भारत अहिलेसम्म सातपटक उपाधि जितेर च्याम्पियनसिपको सबैभन्दा सफल देश भएको छ भने नेपाल अझै फाइनल पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस