माधव पक्षिय बैठकमा सहभागी भए भीम रावल

एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

आइतबार शंखमुलमा बसिरहेको नेपाल समूहको स्थायी कमिटी बैठकमा रावल सहभागी भएका हुन् । यसअघि गत बिहीबार स्थायी कमिटी बैठकमा निमन्त्रणा पुगे पनि उनी सहभागी भएका थिएनन् ।

नेता रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रहका लागि गत बिहीबार नै नेपाल टोखास्थित रावल निवास पुगेका थिए । निवासमा पुगेर नेपालले भनेका थिए, ‘म अरु कुरा केही सुन्दिँन तपाईं आफ्नो राजीनामा फिर्ता लिनुस् ।’

नेता र कार्यकर्ताहरूको आग्रहको कारण देखाउँदै रावलले शुक्रबार राजीनामा फिर्ता गरेको जानकारी गराएका थिए । रावलले शीर्ष नेताहरूको स्वेच्छारिता र घृणित राजनीतिक खेलमा आफू सहभागी नहुने भन्दै राजीनामा दिएका थिए । उनले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजीनामा पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस