कांग्रेस महाधिवेशन : यी हुन् मेचीका ४ जिल्लामा सभापतिका आकांक्षी

काठमाडौं । कांग्रेस महाधिवेशनको मिति नजिकिदै जाँदा देशभर कांग्रेसका नेता कार्यकर्ताले आफु र आफ्ना पक्षका नेताहरुलाई जिताउन लबिङ गरिरहेका छन् ।

कांग्रेस महाधिवेशनको सरगर्मि यतिवेला मेचीमा पनि देखिन्छ । ४ वटा जिल्ला रहेको मेचिमा यतिवेला जिल्ला सभापतिको होडमा रहेका नेताहरुले केन्द्र स्तरसम्म आफ्नो उमेरद्वारीका लागि लबिङ गरिरहेका छन् ।

सुदूरपूर्व मेचिको हिमाली जिल्ला ताप्लेजुंगमा पनि महाधिवेशनको सरगर्मी बढेको छ । यहाँ देउवा समूहका तीन नेताले सभापतिमा आकांक्षा देखाएका छन् । प्रदेश सभा सदस्य प्रताप हाङगाम, निवर्तमान सचिव छवि गुरुङ र पूर्वसचिव गजेन्द्र तुम्याहाङ देउवा समूहका हुन् । पौडेल समूहनिकट पूर्वसभापति केशव दाहालले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

अहिलेसम्मको दाबेदारी हेर्ने हो भने केन्द्रमा देउवालाई सहयोग गर्ने नेताहरुको दाबेदारी धेरै संख्यामा छ । यहाँ ३ जना देउवा प्यानलका र १ जना पौडेल प्यानलका नेताले आफ्नो लबिङ गरिरहेका छन् । देउवा प्यानलभित्र उमेरद्वारी दिनेको संख्या ठुलो भएकाले यहाँ पौडेल पक्षलाई तुलनात्मक फाईदा हुने देखिन्छ ।

पाँचथरमा भने पौडेल पक्षका ३ नेताले सभापतिको दाबेदारी दिएका छन् । अहिलेका उपसभापति मित्रप्रसाद काफ्ले महाधिवेशन प्रतिनिधिहरु सुरेन्द्रकुमार दाहाल र डिकेन्द्र चेम्जोङ सभापतिका दाबेदार हुन् भने देउवा पक्षबाट अहिले सचिव रहेका रुपनारायाण जबेगूले सभापतिको आकांक्षा देखाएका छन् ।

झापामा कृष्ण सिटौलाको क्षेत्र भएका कारण बर्चस्व पनि सिटौलाकै रहेको छ । सिटौला पक्षबाट ३ जनाले सभापतिको आश राखेका छन् । सिटौला पक्षका कांग्रेसको वर्तमान जिल्ला उपसभापति राम कट्टेल, पूर्वउपसभापति देउमान थेबे र जिल्ला प्रवक्ता लोकराज ढकाल सिटौला समूहका हुन् । पूर्वसचिव भगीरथ पोद्दार देउवा समूहका हुन् ।

इलाममा देउवा र पौडेल समूहका दुई–दुईजना आकांक्षी छन् । पौडेल समूहबाट वर्तमान सभापति हिमाल कर्माचार्य र महासमिति सदस्य भेषराज आचार्यले आकांक्षा देखाएका छन् । यस्तै, देउवा समूहबाट पूर्वसभापति केशव थापा र पूर्वकोषाध्यक्ष डम्बर खड्का आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस