जिब्रोको रङ पहेँलो भएपछि क्यानाडामा दुर्लभ रोग पहिचान

क्यानाडामा १२ वर्ष उमेरको एक बालकमा ‘कोल्ड एग्लुटिन’ नामको दुर्लभ अटोइम्युन रोग देखिएको छ ।उक्त बच्चाको जिब्रो पहेँलो भएको थियो । यस रोगमा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै शरीरमा आक्रमण गरेर रातो रक्त कोषहरूलाई नष्ट गर्न थाल्छ ।

यो रोग चिसो तापक्रम तथा इपस्टेन–बार भाइरस सङ्क्रमणको कारणले हुनसक्ने बताइएको छ । द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्टअनुसार केही दिनदेखि घाँटी तथा पेट दुख्ने, छाला र पिसाबको रङ पहेँलो भएकाले बच्चालाई क्यानाडाको अस्पतालमा भर्ना गरिएको थियो ।

डाक्टरका अनुसार बच्चालाई अस्पतालमा ल्याउँदा जन्डिस भएको अनुमान गरिएको थियो । तर, बच्चाको जिब्रो पहेँलो भएका कारण अन्य रोगको शङ्कामा गरिएको विभिन्न परीक्षणबाट बच्चामा एनेमियाको र इपस्टेन–बार भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । इपस्टेन–बार भाइरसले प्रायजसो बच्चाहरूलाई सङ्क्रमित गर्छ ।

नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार सङ्क्रमणका कारण कोल्ड एग्ग्लुटिन भएपछि शरीरमा रातो रक्त कोषहरू बिग्रन थाल्छ र बिलिरुबिन भनिने रासायनिक पदार्थ बन्न थाल्छ । यस रसायनका कारण छाला र जिब्रोको रङ पहेँलो हुनथाल्छ । बच्चाको उपचारका लागि ब्लड ट्रान्सफ्युजन र करिब सात हप्तासम्म स्टेरोइडको सहयताले अनियन्त्रित प्रतिरक्षा प्रणालीलाई नियन्त्रण गरिएको थियो ।

बच्चा अब पूरै स्वस्थ भएको छ भने जिब्रोको रङ पनि सामान्य भएको जनाइएको छ । यो भाइरस थुकको माध्यमबाट फैलिन्छ र यसले सीधै प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ । सङ्क्रमित बिरामीमा थकान, अचानक ज्वरो, भोक कम लाग्ने, तौल घट्ने, घाँटीमा समस्या, छालामा दाग र कमजोरी जस्ता लक्षणहरू पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस