प्रधानमन्त्रीको आदेशमा रोकियो डा. जागेश्वर गौतमको सरुवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक आदेशमा कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा रोकिएको छ। सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए।

तर स्वास्थ्यमन्त्री समेत रहेका देउवाले तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनेपछि सरुवा रोकिएको हो।स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए। स्वास्थ्य राज्य मन्त्रीलाई देउवाको मातहतमा रहने गरी मन्त्रिमण्डलमा समावेश गरिएको छ।

राज्यमन्त्रीमा श्रेष्ठ नियक्त भएदेखि नै विवादमा तानिएका छन्। केहि दिन अगाडि डाक्टर. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका थिए। डाक्टर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेका श्रेष्ठलाई मन्त्री बनाएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्। केसीले सरकारका शुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलै गाँसमा ढुंगा लागेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस