‘सही अवसर आए राजनीतिमा आउँछु’

काठमाडौं, साउन २० गते । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तत्काल नेपालमा क्रिकेटका विकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ट सम्बोधन गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाटमा उक्त धारणा राख्नुभएको हो । काठमाडौंमा आज अपरान्ह आयोजित भेटघाटमा उहाँले तात्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताउनुभयो । “ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।”– उहाँले बताउनुभयो ।

क्रिकेटमा ब्यवस्थापकीय जिम्मेवारीमा सङ्घका पदाधिकारी वा प्राविधिक क्षेत्रतर्फ भने जिज्ञासामा पूर्व कप्तान पारसले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा ब्यक्त गर्नुभयो । उहाँले आफू सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त हुँदादेखि नै ब्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पुर्याउन सक्ने योगदानबारे अवगत् भएको अनुभव सुनाउनुभयो । उक्त अनुभवकै आधारमा आफू ब्यवस्थापकीय जिम्मेवारी आउन रोजेको खुलाउनुभयो ।

पारसले ब्यवस्थापकीय जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ । जसका लागि दुई वर्ष समय बाँकी छ । पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएकाे हुनुपर्ने ब्यवस्थाकै कारण उहाँले सन्यास लिएको बुझिन्छ । यद्दपी नेपालले सन् २०१८ अगष्ट तीनमा अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेट खेल्न आईसीसीबाट मान्यता पाएको दिनकै अवसर पारेर सन्यासको घोषणा गर्नुभएको छ ।

नेपालमा जिल्ला, प्रदेश र सङ्घ गरी तीन तहमा क्रिकेट सङ्घको विभाजन गरिए झैं क्रिकेट खेल्ने प्रारुप पनि त्यसै बमोजिम अगाडि बढ्नुपर्ने उहाँले सुझा दिनुभयो । क्रिकेट विकासका लागि आफूले अबको तीन चार महिनाभित्रै एकेड्मी सञ्चालन गर्ने तयारी गरेको उहाँले खुलाउनुभयो । ब्यवस्थापकीय जिम्मेवारीमा पुग्नु अघिसम्मको शून्य समय कसरी उपयोग गर्ने सम्बन्धमा पारसले छिट्टै एकेड्मी सञ्चालन गरेर खेलाडी उत्पादनको कार्य सुरु गर्ने बताउनुभयो ।
अचानक सन्यास लिनुको कारणबारे प्रष्ट्याउनुहुँदै उहाँले भन्नुभयो,“उमेर ३४ वर्ष मात्रै भए पनि नेपाली क्रिकेटमा मैले करिब लामो समय बिताएको छु, तसर्थ यो हतारको उद्घोष होइन ।”

प्रतिक्रिया दिनुहोस