स्वास्थ्य राज्यमन्त्रीले गरेका तीन पदाधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीनजना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहसचिवको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।११ औँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

एमाले माधव पक्षको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक भोलि बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल–झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

नेता नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक बिहीबार बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयासरत नेताहरुले भने नेता नेपाललाई बैठक रोक्न आग्रह गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षले समर्थन गरेको छ । देउवाले नेपाल पक्षलाई सरकारमा समेत सहभागी गराउने प्रयास गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस