काभ्रेका युवालाई कोलकत्ता लगेर मिर्गौला बेचियो

काभ्रे– काभ्रेमा एक युवालाई प्रलोभनमा पारेर मिर्गौला बेचेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ३ जनालाई पक्राउ गरेको छ । बनेपा– ५ का २८ बर्षीय एक युवालाई प्रलोभनमा पारेर भारतमा लगी उनको मिर्गौला बिक्री गरेको आरोप उनीहरुलाई पक्राउ गरिएको हो ।

दिपक श्रेष्ठको नाममा नागरिकता लगायतका कागजपत्र समेत नक्कली बनाएर भारतको कोलकाता पुर्‍याइएका काभ्रेको रविओपीका ती युवाको मिर्गौला काठमाडौंकी एक महिलालाई दिइएको बताइएको छ । आफ्नै घर परिवारका सदस्यको राजीखुसीले घर परिवारका सदस्यलाई मात्रै मिर्गौला दान गर्न सकिने कानुनी व्यवस्था रहेको भए पनि तस्करहरुले नाता नपर्ने व्यक्तिका लागि मृर्गौलाको बन्दोबस्त गरिदिने गरेका छन ।

पीडित युवाको जाहेरीका आधारमा भुम्लु गाउँपालिका– ८ का कुमार परियार, उनकै भाई सुरेश परियार र पाँचखाल नगरपालिका –१० का कुमार परियारलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये २ जनाले आफ्नै मिर्गौला पनि बिक्री गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस