निषेधाज्ञा थप्ने सम्बन्धमा सीडीओहरुको बैठक बस्दै, यस्ता निर्णय हुने सम्भावना

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय लिन आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्दै छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाकाअनुसार बैठक दिउँसो २ बजे बस्दैछ। यसअघि जारी गरिएको निषेधाज्ञा साउन २७ (बुधबार) बाट सकिँदै छ ।

कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्नुको सट्टा कडा बनाउने अवस्था आएको निरौलाले बताएका छन् । उनले पछिल्लो समय संक्रमण बढ्न थालेको भन्दै निषेधाज्ञाको अवधि थप गर्ने बताए। पहिले जारी गरिएको निषेधाज्ञामा केही परिमार्जन हुन सक्ने निरौलाले बताए।

संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा वैज्ञानिक बनाउनु पर्ने बताउँदै उनले परीक्षाहरुसमेत स्थगित भइरहेकाले पहिलेभन्दा केही कडा हुनसक्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस