न्यादी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)  बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले मस्र्याङ्दी गाउँपालिका–३ (साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र) तथा मस्र्याङदी –६, ७ र ८ ९साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा० का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्काशन गरेको हो ।

आइपिओमा एनएमबि बैंकको बेसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस