बोनी कपूरलाई श्रीदेवीले बाँधिदिएकी थिइन् राखी, कसरी बनिन् उनकै श्रीमती ?

एजेन्सी ।  बलिउडमा सन् ८० को दशकलाई अभिनेत्रीको दृष्टिकोणले श्रीदेवीको दशक मानिन्छ । श्रीदेवीको सन् २०१८ को फेब्रुअरी २४ का दिन दुबईमा रहस्यमय तरिकाले निधन भइसकेकाे छ । यद्यपी उनका विभिन्न किस्साहरु सार्वजनिक भइरहन्छन् । उनका प्रशंकले चलचित्र क्षेत्रसँग जोडिएका उनको विभिन्न प्रसंगहरु निकालेर स्मरण गर्ने गर्छन् । श्रीदेवीले आफ्नो अभिनय करियरको थालनी ४ वर्षको उमेरदेखि प्रारम्भ गरेकी थिइन् ।

अभिनेता जीतेन्द्र र अभिनेत्री श्रीदेवीले एकपछि अर्को गर्दै थुप्रै हिट फिल्म दिए । त्यसो त श्रीदेवीको जोडी अभिनेता अनिल कपूरसँग पनि अत्यधिक जमेको थियो । बाल कलाकारको रुपमा उनको पहिलो फिल्म ‘कन्धन करुणाई’ थियो भने अभिनेत्रीको रुपमा श्रीदेवीको पहिलो फिल्म ‘सोलवा सावन’ थियो । बोनी कपूरसँग विवाह गर्नु अगाडि श्रीदेवी अभिनेता मिथुन चक्रवर्तीकाे प्रेममा थिइन् ।

मिथुनसँगको प्रेमको शुरुवात सन् १९८४ को फिल्म ‘जाग उठा इन्सान’ को सेटबाट प्रारम्भ भएको थियो । त्यतिबेला मिथुनले योगिता बालीसँग विवाह गरिसकेका थिए । त्यतिबेला श्रीदेवीले मिथुनलाई खुशी बनाउनका लागि बोनी कपूरलाई रक्षा बन्धनको दिन राखी बाँधिदिएकी थिइन् । सन् १९८५ मा श्रीदेवीले मिथुनसँग गोप्य विवाह गरेको खबर पनि बाहिरिएको थियो ।

तर उनीहरु विवाहको तीन वर्षमा नै एक–अर्काबाट टाढा भए । यो कुरामा कत्तिको वास्तविकता छ भन्ने कुरा कसैलाई थाहा छैन, तर बोनी कपूरलाई राखी बाँधेको कुरा बोनीको पहिली श्रीमती मोना शोरीले एउटा अन्तर्वार्तामा पनि बताएकी थिइन् । आफू र बोनी कपूरबीच केही पनि छैन भनेर मिथुनलाई विश्वास दिलाउनका लागि आफ्ना पूर्व श्रीमान् बोनी कपूरलाई श्रीदेवीले राखी बाँधेको मोनाले एउटा पत्रिकालाई दिएको अन्र्तवार्तामा बताएकी थिइन् ।

त्यो समयमा श्रीदेवी बोनी कपूरका फिल्महरुमा काम गर्थिन् । त्यही क्रममा बोनीले श्रीदेवीलाई एकतर्फी प्रेम गर्न थालिसकेका थिए । बोनी श्रीदेवीसँग नजिक हुने बहाना खोजिरहन्थे । बोनी श्रीदेवीकी आमासँग पनि निकै नजिक थिए । त्यही कारणले मिथुन र श्रीदेवीबीच बहस भएको थियो । त्यसको केही समयपछि सन् १९९६ मा बोनी र श्रीदेवीले  विवाह गरे । बोनी कपूरले श्रीदेवीसंग विवाह गर्नका लागि आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस