प्रियंकाको बलात्कारपछि हत्या आशंका, दुई जना पक्राउ

काठमाडौं । सर्लाहीको लालबन्दीमा दुई दिनअघि मृत फेला परेकी प्रियंका भुजलेको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रियंका गएको साउन ३१ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गएको मंगलबार स्थानीय खोलामा फेला परेको थियो ।

घरदेखि करिव ३ किलो मिटर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको  बगरमा खाडल खनेर गाडेको अवस्थामा उनको शव फेला परेको हो । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्यामा संलग्न रहेको आरोपमा लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका किशाेरहरुले हत्या गरेकाे स्वीकार गरिसकेका छन् । उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ प्रहरीलाई देखाएका हुन् । किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयकाे आशंका छ । यद्यपी प्रहरीले भने यसबारे पुष्टि गरिसकेको छैन । घटनाबारे सबै कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रियंकाको हत्याको विरोधमा बुधबार स्थानीयवासीले लालबन्दीमा सडक अवरुद्ध गरेका थिए । ईलाका प्रहरी कार्यालय अगाडि भेला भएर स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । अहिले किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा लगिएकाे छ । पक्राउ परेका दुबै किशोरलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाको बास्तविकता खुल्ने प्रहरीले जनाएको छ । किशोरीका बुवा राजनले पक्राउ परेका दुई किशोरविरुद्ध जबर्जस्ती करणी र हत्या अभियोगमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस